संविधान संशोधन प्रस्ताव विरुद्ध रुपन्देही बन्द

२०७३ मंसिर १६ गते, बिहीबार

काठमाडौं, १६ मंसिर । पाँच नम्बर प्रदेशलाई टुक्र्याउने गरी ल्याएको संविधान संशोधनको प्रस्ताव फिर्ता लिनुपर्ने माग गर्दै ५ नम्बर प्रदेशका विभिन्न जिल्लामा आन्दोलन चर्किएको छ । सरकारले पाँच नम्बर प्रदेशलाई टुक्र्याउने गरी संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गरेसँगै विभिन्न जिल्लामा आन्दोलन चर्किएको हो । आन्दोलनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सत्तारुढ दलकै नेता तथा कार्यकर्तासमेत सहभागी भएका छन् ।
संविधान संशोधनको प्रस्तावको विरोध गर्दै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आज रुपन्देही बन्दको आह्वान गरेको छ । बन्दका कारण रुपन्देहीका प्रमुख शहरहरु बुटवल र भैरहवाको साथै ग्रामीण भेगकोसमेत जनजीवन ठप्प बनेको छ । बिहानैदेखि चोक–चोकमा टायर बालेर प्रदर्शन भइरहेको छ । बन्दका कारण जिल्लामा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् भने शैक्षिक संस्था र बजारसमेत बन्द भएका छन् । बन्दको प्रभाव पूर्व–पश्चिम र सिद्धार्थ राजमार्गमा पनि परेको छ । रुपन्देही बन्दको प्रभाव नवलपरासी, कपिलवस्तु र पाल्पामा पनि परेको छ ।
मधेसी मोर्चाको चित्त बुझाउने नाममा लुम्बिनी अञ्चलका पहाडी तीन वटा जिल्लालगायतलाई पाँच नम्बर प्रदेशबाट टुक्र्याउने प्रस्ताव गरेपछि आक्रोश बढेको हो । संशोधन प्रस्ताव खारेजीको माग गर्दै विद्यार्थीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् । यता, गुल्मीमा पनि आजदेखि अनिश्चिकालिन आमहड्ताल शुरु भएको छ । संविधान संशोधनको प्रस्तावमा ५ नम्बर क्षेत्रबाट पहाडी जिल्ला छुट्याएको विरोधमा विभिन्न राजनीतिक दल, संघसंस्था, पत्रकार, नागरिक समाजलगायतको बैठकले गुल्मीमा आन्दोलनको कार्यक्रमलाई सशक्त अघि बढाउने निर्णय गरेको हो ।

प्रतिक्रियाहरु