संविधान संशोधन नभएकोमा मोर्चाको आपत्ति

२०७३ आश्विन ११ गते, मंगलवार

काठमाडौँ, ११ असोज । सत्ताधारी दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको तीनबुँदे सम्झौताअनुसार संविधान संशोधन हुन नसकेको भन्दै मोर्चाले आपत्ति जनाएको छ । तीनबुँदे सम्झौता भएको दुई महिना हुन लागेको तर संविधान संशोधनको कुनै पनि प्रक्रिया हालसम्म सुरु नभएको भन्दै यस विषयमा मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ सँग गम्भीर छलफल गर्ने निर्णय मोर्चाले गरेको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा सोमबार बसेको मोर्चाको बैठकले तीनबुँदे सम्झौताको एक नम्बरमै उल्लेख भएको संविधान संशोधनबारे प्रचण्डसँग अन्तिम पटक कुरा गर्ने निर्णय गरेको हो । मधेसी मोर्चामा आबद्ध राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले मङ्गलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर मोर्चाका नेताले अन्तिमपटक संविधान संशोधनको विषयमा कुरा गर्ने निर्णय भएको बताए ।
सीमाङ्कन, नागरिकता, भाषालगायत विषयमा संविधान संशोधनको प्रस्ताव नै तयार भइसकेको समाचारबाहिर आएकोप्रति आपत्ति जनाउँदै मोर्चाका नेताले आफूहरूसँग छलफल गरी त्यसप्रकारको कुनै पनि मस्यौदा तयार नभएको जनाएको छ ।
संविधान संशोधनको प्रस्तावबारे प्रधानमन्त्री प्रचण्डले विभिन्न अभिव्यक्ति दिए पनि हालसम्म कुनै पूरा नभएको भन्दै मोर्चाले यसबारे प्रधानमन्त्री प्रचण्डसँग ठोस कुरा गर्ने भएको छ ।

प्रतिक्रियाहरु