संविधान बन्दैन भन्ने थाहा थियो :सन्तोष बुढामगर

२०७१ माघ ९ गते, शुक्रबार

काठमाडौ । नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य सन्तोष बुढामगरले नयाँ संविधानको आश गरेर धेरै मान्छे माघ ८ गते राति अबेरसम्म बसे पनि आफुभने आनन्दले सुतेको बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन रोल्पाले लिबाङमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले उक्त कुरा बताएका हुन् ।नर्क जाने बाटो जतिसुकै राम्रो भएपनि आखिरमा नर्कै पुग्ने भन्दै बुढाले एउटा अन्यौलता टरेको जिकिर गरे । ‘संविधान बन्दैन भन्ने थाहा थियो बनेन्’ बुढाले भने ‘यो कुनै नौलो कुरा होइन ।’
मुलुक अन्यौलतामा भासिएको भन्दै बुढाले नेकपा माओवादीले तुलसीपुर सम्मेलन गरि एकीकृत क्रान्तिको कार्यदिशा अघि सारेर मुलुकको अन्यौलताबाट बाहिर निक्लिएको दावी गरे । ‘जनयुद्धको जगमा जनविद्रोह जस्ता अन्यौलपूर्ण कार्यदिशासहित अघि बढ्दा हामी निकै भासियौं’ उनले भने ‘त्यो अन्यौलताबाट हामी बाहिर निस्किएका छौं ।’के अब नयाँ माओवादीले बन्दुक बोक्छ ? भन्ने चर्चा व्यापक बनिरहेको बेला बुढाले भने जनयुद्ध, जनविद्रोह केही पनि नगर्ने बताए । ‘धेरैले बन्दुक बोकेर जंगल जान्छन् कि भनिरहेका छन् तर हामी जो पायो त्यो सँग लड्ने त्यति काँचो छैनौं’ बुढाले भने ‘एकीकृत क्रान्ति भनेको बन्दुक बोक्नु होइन ।’ उनले बदलिँदो सामाजिक अन्तरविरोधको पहिचान गरी नयाँ खालको क्रान्ति गर्ने बताए ।एकीकृत क्रान्तिको पहिलो निशाना दलाल, घुसखोर, सामन्त र जनतालाई भ्रम दिएर देश बेच्नेहरु हुने उनले बताए । ‘दलालहरु सीमा छोडेर सिधै सरकार, सत्तातिर पसेका छन् उनीहरुलाई खोज्न हामी सीमा जादैनौं’ सन्तोषले भने ‘नवउपनिवेश भनेपछि विस्तारवाद समेत् पुरानो भइसक्यो ।’
नेपालमा अब संघीय जनवादी गणतन्त्र हुने भन्दै सन्तोषले त्यसको लागि देश स्वाधिन, स्वतन्त्र हुनुपर्ने र पछाडि पारिएका वर्ग, समुदायको उत्थान हुनुपर्ने बताए । एकीकृत क्रान्तिको लक्ष्य समेत त्यही रहेको उनले स्पष्ट पारे । त्यसको लागि जनअधिकार राष्ट्रियसभा आफूहरुको माग रहेको बताए ।
माओवादीका पोलिटब्यूरो सदस्य सन्तोष बुढामगरले वैद्य माओवादी सर्पको पुरानो काँचुली भएको र चन्द माओवादी सर्प भएको दावी गरे । ‘काँचुलीमात्रै बाँकी रह्यो सर्पहरु अगाडि बढे’ बुढाले भने ‘दलालहरु को को हुन् यही सर्पले चिन्छ ।’ तर कार्वाहीको लागि भने कुनै सेना वा समूह नबनाइने उनले स्पष्ट पारे ।संघीयताको बहस तिब्र बनिरहेको बेला बुढाले सबैभन्दा संघीय पक्षधर नवगठित माओवादी भएको बताए । फाल्गुन १ को जिज्ञासाबारे बोल्दै उनले हाइवेमा निस्किने योजना रहेको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु