संविधान बन्दैन बने जलाईछ – बिप्लव

२०७१ मंसिर १९ गते, शुक्रबार


काठमाडौं । नव गठित नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्दले वर्तमान संविधानसभाले यही अवस्था संविधान जारी गर्नै नसक्ने दावी गरेका छन्। पोखरामा कार्यकर्तालाई सम्बोधन गर्दै बिप्लवले संविधान माओवादी र अन्य दलबीचको साझा दस्तवेज हुनु पर्नेमा काङ्ग्रेस–एमालले एक पक्षीय रुपले काम गरिरहेको दावी गरे। बिप्लवले भने–‘अहिलेको अवस्थामा माओवादीलाई पन्छाएर संविधान बन्दैन, बने जलाइन्छ।’ उनले माओवादी र संसदवादी बीच भएका सहमतिहरू भत्काएर शान्ति प्रक्रिया पूरा हुन नसक्ने र संविधान पनि जारी हुन नसक्ने विचार राखे।परिवर्तनकारी एमाओवादीलाई लज्जाजनक अवस्था पु¥याएर यथास्थितिमा संसदीय अवस्थालाई वैधानिक गर्ने गरी नयाँ संविधान ल्याउन लागिएको उनको भनाई थियो। नेता बिप्लवले भने–‘माघ ८ मा वार या पार लड्नु पर्ने समयमा विज्ञप्ति निकालेर मात्रै बस्ने पार्टीको काम छैन।’ केही नेताले सम्झौता गर्दैमा माओवादी आन्दोलन नसकिने भन्दै उनले आफ्ना अग्रजहरूले आन्दोलन गर्ने आँट नगरेकाले नयाँ पार्टी गठन गरेको जिकिर गरे। उनले भने–‘प्रचण्ड, भट्टराई, वैद्यहरूकै नेतृत्वमा क्रान्ति होला भन्ने ठानेका थियौं। तर,उहाँहरूले आँट गर्नु भएन।’ नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले आँट नगरेकाले आफू अगाडि बढेको बताए।
एमाओवादी र नेकपा– माओवादीका नेताहरूको आलोचना गर्नु भन्दा पनि वर्तमान अवश्यकतालाई पूरा गर्ने गरी नयाँ क्रान्ति हुने बिप्लवको भनाइ छ।
आफूमा धन आर्जन गर्ने वा नेतृत्वमा नै पुग्ने महत्वकांक्षा नभएको भन्दै उनले सच्चिएर आए पुराना नेताहरूले नै क्रान्तिको नेतृत्व गर्ने बताए।
नयाँ पार्टी गठनपछि माओवादी कार्यकर्तामा उत्साह र अरु वर्गमा डर छाएको भन्दै उनले तत्काल जंगल जाने वा हतियार उठाउने भनी गलत प्रचार गरिएको दावी गरे। उनले भने–‘हामी अधिकारका लागि लड्ने नै हो। तर, विना तयारी वा परिस्थिति मूल्याङ्कन नगरी लड्ने कुरै हुँदैन।’
आफू विरुद्ध प्रायोजित प्रचार भइरहेको दावी गर्दै उनले आफूले राजधानी छोडेको वा आउँदो फागुन १ गतेबाटै जंगल जाने भन्ने तथ्य निराधार भएको दावी गरे। उनले चिनियाँ वा रुसी क्रान्तिको नक्कल नगरी नेपाली विशेषताको गहन अध्ययनपश्चात नयाँ तवरले क्रान्ति हुने विचार राखे।
प्रशिक्षण कार्यक्रममा कास्कीका कार्यकर्ता र जनवर्गीय संगठनका प्रमुखहरू उपस्थित थिए। नयाँ पार्टी गठनसँगै चन्द कार्यकर्तालाई आफनो पक्षमा पार्न र आफ्नो कार्यदिशा बुझाउन देश दौडाहामा छन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु