संविधान कार्यान्वयन र शान्तिप्रक्रिया चुनौतिपूर्ण

२०७३ आश्विन ९ गते, आईतवार

काठमाडौं, । संविधान निर्माण भएको १ बर्ष पुरा भईसक्दा पनि संविधान नमान्नेहरुको मत बलियो हुँदै गएको र शान्तिप्रक्रिया झन जटिल मोडमा पुगेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । जनअधिकार अभियान नेपालले बुटवलमा आयोजना गरेको ‘संविधान र शान्तिप्रक्रिया’ विषयक एक अन्तक्र्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताले जनताको संविधान निर्माण भएपनि यसको कार्यान्वयनको पक्ष जटिल रहेको भन्दै सबैलाई समेटेर जानुपर्नेमा जोड दिएका हुन् ।
जनअधिकार अभियान नेपालका केन्द्रिय अध्यक्ष एकराज भण्डारीले कार्यक्रममा बोल्दै संविधान निर्माण नै सबै कुराको हल नभएको भन्दै कार्यान्वयन गर्न जटिल हुनुको पछाडी संविधान निर्माणको प्रक्रिया नै गलत भएको औल्याए, उनले देशको शान्तिप्रक्रिया विशिष्ठ स्थितीमा पुगेको भन्दै पैसाले भोट किनेर पाएका प्रतिनिधीले जनताको संविधान लेख्न नसकेको बताए । उनले प्रतिपश्न गरे, हिजो जनवादी व्यवस्था ल्याउनुप¥यो लड्न आउँ, मान्छे मार भन्ने नेतृत्वकर्ताले उन्मुक्त्ती पाउने अनी ति कार्यकर्ता जेल बस्नुपर्ने ? हिजो राजा बचाउँ भनेर आदेश दिनेहरु चाही मन्त्री बन्न पाउने अनी ति सेनाहरुलाई चाही मुद्दा लाउने ? प्रतिपक्षमा बस्नेहरु पानीमाथी आभानो बन्न नपाउने भन्दै उनले मानवअधिकारवादीहरु पनि न्यायको पक्षमा लाउँनुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा नेपाल बार यसोसियसनका उपाध्यक्ष घनश्याम पन्तले संविधान निर्माणले जनताले झन कित्तामा विभाजन गरेको भन्दै यसको परिणाम राम्रो नआउने बताए । प्रगतिशिल लेखक दिल सहानीले, प्रायोजित संविधानसभाले लेखेकोले संविधान पनि प्रायोजित बनेको बताए, संविधान र शान्तिप्रक्रिया एकैठाउँबाट अगाडी बढ्नुपर्ने भएपनि यसो नभई दुरी बढ्दै गएको उनको भनाई थियो । यसैगरी नेकपा (माओवादी)का केन्द्रिय सदस्य एवं लुम्बिनी व्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्द विरजंगले, यो संविधान केबल केही मुठ्ठीभरका दलालहरुको मात्र भएको भन्दै यो संविधानले शान्तिप्रक्रिया टुङ्ग्याउन नसक्ने बताए । उनले आफूहरु जनसंविधानलाई लागू गर्न दिशामा अगाडी बढेको भन्दै, संसदीय दलहरु यसरी नै अगाडी बढे देशले ठूलो नोक्सान बेर्होनु पर्ने जिकिर गरे ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका बुटवलका उपक्षेत्रीय प्रमुख बुद्धनारायण साहनी, नेपाली कांग्रेसका जोगबहादुर खत्री, नेकपा एमालेका तेजेन्द्र केसी, माओवादी केन्द्रका टंकमणी बन्जाडे, नेकपा (क्रान्तिकारी) माओवादीका प्रेम सुवेदी, बरिष्ठ पत्रकार बालकृष्ण चापागाई , नेपाल पत्रकार महासंघका उपाध्यक्ष यानेन्द्र जिसी, अधिवक्ता कपिल पौडेल, मानवअधिकार तथा शान्ति समाजका सचिव गोविन्द खनाल, पत्रकार दीपक ज्ञवाली, बरिष्ठ अधिवक्ता तेजप्रसाद कंडेल, बुद्धिजीवि घनश्याम पाठक लगायतले बोल्दै १२ बुँदे समझदारीमा भएको कुरा लागू नभएको भन्दै विभिन्न समयमा भएका सहमतिहरु उल्लघन गर्नू नै शान्तिप्रक्रिया टुङ्गोमा नपुग्नुको कारण भएको बताए , संविधान निर्माणपछि जनतामा झनै वितृष्णा र विभक्ति आएको भन्दै यसलाई उचित व्यवस्थापन नगरे यसले ०५२ सालको भन्दा झन विकराल समस्या उत्पन्न गर्नसक्नेमा सचेत रहन सबैको जोड थियो । कार्यक्रममा अधिवक्ता पुण्यप्रसाद खतिवडाको अवधारणा पत्रमाथी छलफल समेत भएको थियो ।
जनअधिकार अभियानले देशव्यापी रुपमा चलाएको अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । जनअधिकार नेपाल केन्द्रिय समिति र रुपन्देही जिल्ला समितिको संयोजनमा आयोजित कार्यक्रमको कार्यक्रमको सभापतित्व जिल्ला अध्यक्ष रेशम चालिसे, स्वागत मन्तव्य केन्द्रिय प्रतिनिधी प्रकाश डुम्रेले गरेका थिए भने सञ्चालन महासचिव राम भण्डारीले गरेका थिए । – शिव डुम्रे

प्रतिक्रियाहरु