संविधानसभा बेलुका पाँच बजे बस्ने

२०७२ श्रावण १२ गते, मंगलवार

काठमाडौं, १२ साउन । संविधानसभाको बेलुका पाँच बजे बस्ने बैठकमा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले बुझाएको नेपालको संविधान २०७२ प्रारम्भिक मस्यौदामा नागरिकबाट प्राप्त राय सुझाव सहितको एकीकृत प्रतिवेदन संविधानसभा बैठकमा पेश हुनेछ ।समितिले केही दिनको लगातारको मेहनतपछि सोमबार बेलुका सिंहदरबारस्थित संसद सचिवालयमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई प्रतिवेदन बुझाएसँगै संविधानसभालाई नयाँ संविधान निर्माणको थप आधार तय भएको छ । समितिका सभापति प्रमिला राणाले संविधानसभा अध्यक्षा नेम्वाङलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
संविधानसभाको गएको असार २४ गतेको बैठकमा समितिले पेश गरेको कार्ययोजनामा सुझावसहितको प्रतिवेदन दिन १५ दिनको समय दिइए पनि नागरिक र सङ्घसंस्थास्तरको सुझाव आएपछि समितिलाई एकीकृत गर्न केही दिन बढी समय लागेको हो । समितिले यही साउन ४ र ५ गते सबै निर्वाचन क्षेत्रमा सभासद र कर्मचारी खटाई सुझाव सङ्कलन गरेको थियो भने नागरिकले अन्य माध्यमबाट पनि सिधै संविधानसभामा सुभाव दिएका थिए । ती सबै सुझाव संविधानसभाले ऐतिहासिक दस्तावेजका रूपमा अभिलेखन गर्नेछ । प्रतिवेदन बुझ्दै सभाध्यक्ष नेम्वाङले संविधान निर्माणको महत्वपूर्ण र ऐतिहासिक चरणमा मुलुक पुगेको र नागरिकका सुझाव प्राप्त भएपछि संविधान निर्माणको प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने ठोस आधार तय भएको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु