संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन

२०७५ भाद्र २ गते, शनिबार

काठमाडौं, २ भदौ । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको शनिबार निधन भएको छ । ८० वर्षीय अन्नानको सामान्य बिरामी अवस्थामै निधन भएको उनको नाममा स्थापित कोफी अन्नान फाउन्डेसनले जनाएको छ । विश्वकै उच्च तहको कूटनीतिज्ञकारुपमा काम गर्ने उनी पहिलो अश्वेत नागरिक थिए । राष्ट्रसंघको महासचिवकारुपमा उनले सन् १९९७ देखि सन् २००६ सम्म काम गरेका थिए ।
त्यसपछि पनि उनले राष्ट्रसंघको विशेषदूतकारुपमा सिरियाको गृहयुद्ध शान्तिपूर्णरुपमा समाधान गर्न भूमिका निभाएका थिए । गरिबी र शिशु मृत्युदर घटाउनेलगायतका विषयलाई लक्षित गरी पहिलोपटक तयार पारिएको सहश्राब्दी विकास लक्ष्यलाई उनले आफ्नो कूटनीतिक भूमिकामा ठूलो उपलब्धि मानेका थिए । उनी सन् २००१ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । घानाका नागरिक अन्नान केही वर्षयता जेनेभामा बस्दै आएका थिए । -एजेन्सी

प्रतिक्रियाहरु