संदिग्ध लेखक र साहित्यकार नबनौ – बलराम तिमल्सिना

२०७६ फाल्गुन २२ गते, बिहीबार

राजनीतिप्रति असंवध्दता देखाउन खोज्ने , आफ्नो राजनीतिक आस्थालाई लुकाएर राख्ने या राजनीतिप्रति घृणा, अरुची या निरपेक्ष देखाउँन चाहने लेखक जतिसुकै विलक्षण र प्रतिभावान भए पनि संदिग्ध हुन्छ। यहाँ मैले भन्न खोजेको कुरा हरेक लेखक साहित्यकारले कनै न कुनै पार्टीको सदस्यता लिनै पर्छ, पोलिटव्युरोमा बस्नै पर्छ, झोला बोक्नै पर्छ या जुलुसमा जिन्दावाद या मुर्दावाद भन्न जानै पर्छ भन्ने पटक्कै होइन। लेखक साहित्यकारहरू कुनै दलमा लाग्न पनि सक्छन नलाग्न पनि सक्छन।त्यो उनीहरूको स्वतन्त्र छनौटको अधिकार हो। तर हरेक राम्रो साहित्यकार राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिक घटनाप्रति जानकार रहने, त्यसप्रति आफ्नो धारणा राख्ने र त्यसले समाज र देशलाई पर्ने प्रभावका आधारमा समर्थन या विरोधमा उभिने गर्छ।
लेखक साहित्यकार पनि यही ग्रहको, यही समाजको सदस्य हुनुको नाताले ऊ समाजभन्दा माथि या समाजभन्दा पृथक बस्नै सक्दैन।
बर्ग, जाति, धर्म , भाषा र भूगोल आदिमा विभाजित हाम्रो समाजमा जसरी अरु नागरिकहरू समाजको एउटा खास समुदायका सदस्य हुने गर्छन, ठीक त्यसै गरी लेखक साहित्यकार पनि यो समाजको एउटा खास बर्ग र समुदायको सदस्य हुन्छ।
हरेक समाजमा फरक फरक आर्थिक तथा अन्य समुदायका फरक फरक सुख, दुख, सपना, कल्पना र उद्देश्यहरू हुने भएकोले लेखक साहित्यकार पनि ती प्रभावबाट मुक्त हुन संभव नै छैन।
त्यसैले लेखक साहित्यकार पनि कसै कसैले भने जस्तो समाजको सवैको पृय या सवैको साझा आदर्श हुन प्राय असंभव हुन्छ। भानुभक्त, लेखनाथ, लक्ष्मी प्रसाद, माधव घिमिरेहरू हुन या पारिजात, गोकुल जोशी,गोपाल प्रसाद रिमाल र कृष्ण सेनहरू हुन ; यी कोही पनि सवैका साझा होइनन्। यी दुई थरिमा एक थरि शासकहरूका हुन भने अर्को थरि जनताका हुन।
खास साहित्यकारहरूलाई आदि कवि, महाकवि, राष्ट्रकवि ,युवाकवि जे जे पदवी दिइएको छ त्यो उनीहरूलाई खास समयका शासकहरूले वाँडेको पदवी हो। हाम्रो साहित्यिक वृत्तमा शासकहरूले दिएका पदवीहरूको आधारमा द्रवीभूत भएर खास खास साहित्यकारहरूलाई राष्ट्रकै साझा गौरवको रुपमा स्विकार गर्ने रोग बढेको छ र यो रोगले आफूलाई प्रगतिशील/प्रगतिवादी भन्ने खलकलाई समेत गहिरोसँग छोएको छ।

प्रतिक्रियाहरु