संकटमा सरकार , ६ दलको समर्थन फिर्ता

२०७१ आश्विन १९ गते, आईतवार


काठमाडौं । सरकारलाई दिएको समर्थन छ साना दलले फिर्ता लिने बताएका छन् । प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको संघीय गणतान्त्रिक मोर्चासँग सहकार्य गर्ने सहमति पछि सरकारबाट फिर्ता हुने ती दलहरु निर्णयमा पुगेको हो ।सरकारबाट समर्थन फिर्ता लिने दलहरुमा राष्ट्रिय जनमुक्ति पार्टी, थरुहट तराई पार्टी, खुम्बुवान मुक्ति मोर्चा, बहुजन शक्ति पार्टी, नेपाली जनता दल र नेपाः राष्ट्र पार्टी रहेका छन् ।
अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज बसेको मोर्चाको बैठकबाट परशुराम तामाङ अध्यक्ष रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धन र भानुराम चौधरी अध्यक्ष रहेको संघीय गठबन्धनले पनि संघीय गणतान्त्रिक मोर्चासँग सहकार्य गर्ने निर्णय गरेको मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए । गणतान्त्रिक मोर्चासँग सहकार्य गर्ने भएपछि संघीय गठबन्धनमा आवद्ध छवटा दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने संघीय गठबन्धन एवं थारुहट तराई पार्टीका अध्यक्ष भानुराम चौधरीले बताए ।
संघीय गणतान्त्रिक मोर्चाले लिएको अवधारणालाई स्वीकार गर्दै दुईवटा मोर्चाले पनि ती मोर्चासँग सहकार्य गर्ने संघीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धनका अध्यक्ष तामाङले बताए । उनले काँग्रेस र एमालेको क्रियाकलाप तथा मन्तव्यले गर्दा संविधानसभाबाट सहमति संविधान निर्माण नगर्ने आफूहरुले ठहर गरेको बताउँदै संघीयतासहितको संविधान निर्माणका लागि संघर्षका लागि विभिन्न मोर्चाहरुले सहकार्य गरेको बताए । तीनवटै मोर्चाको आ–आफ्नै नाम रहेपनि संयुक्त रुपमा संघर्ष गर्ने तामाङले बताए । उनले भने – सत्ताधारी दलका नेताहरुले बहुमतको धाक देखाएर प्रकृयामा जाने कुरा गरिरहेका छन् जो आफूहरुलाई स्वीकार छैन, सहमतिमा नै संविधान निर्माण हुनुपर्ने आफूहरुको जोड रहेको पनि बताए ।
अध्यक्ष प्रचण्ड नेतृत्वमा मोर्चामा सात, तमागं नेतृत्वको मोर्चामा आठ र चौधरी नेतृत्वको मोर्चामा ९ दल सहभागि छन् । तीनवटै मोर्चा मिलाएर २४ दलको सशक्त गठबन्धन भएको छ ।

प्रतिक्रियाहरु