श्रीलंकामा कर्फ्यु, सामाजिक सञ्जाल अनिश्चितकालका लागि बन्द

२०७६ बैशाख ३१ गते, मंगलवार

काठमाडौं, ३१ बैशाख । श्रीलंकाका अल्पसंख्यक मुस्लिम समुदायमाथि हिंसा बढ्न थालेपछि सरकारले रातिको समयमा कर्फ्यु आदेश जारी गरेको छ । मस्जिद तथा मुसलमानहरुका व्यापारिक प्रतिष्ठानमा हिंसा बढेको भन्दै श्रीलंका सरकारले देशभर रातको समयमा कर्फ्यु आदेश जारी गरेको हो । उत्तर पश्चिमी क्षेत्रमा रहेको कुरूनेगाला जिल्लामा अल्पसंख्यक मुसलमान समुदाय र बहुसंख्यक बुद्धमार्गी समूहबीच हिंसात्मक झडप भएपछि कर्फ्यु आदेश जारी गरिएको हो । श्रीलंकाका प्रहरी प्रवक्ता एसपी रुवान गुणशेखरले उत्तर पश्चिमी शहरहरू कुलियापिटिया, विङ्गीरिया, धुम्मलासुरिया, हेट्टीपोला, रसनायकापुर र कोवैगानेका नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको बताए । दुई समुदायबीच भएको पछिल्लो झडपमा मुसलमानहरूको धार्मिक आस्थाको केन्द्र मस्जिदहरूका सम्पत्तीमा क्षति पुगेको छ । झडपपछि हिंसाका थप घटना नहोस् भन्नका लागि प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिंघेले विज्ञप्ति जारी गरी सवै समुदायलाई संयमित बन्न आग्रह गरेका छन् । विज्ञप्तिमा गलत तथा भ्रामक सूचनाबाट प्रभावित नबन्न र शान्त रहन आग्रह गरिएको छ । सरकारले गलत सूचना सम्प्रेषण नहोस् भन्नका लागि फेसबुक, ह्वाट्सएपलगायतका सामाजिक सञ्जाल अनिश्चितकालका लागि बन्द गरेको छ । -एजेन्सी

प्रतिक्रियाहरु