श्रमिक र मजदुरको पेशागत आन्दोलनलाई राजनीतिक आन्दोलनसंग जाेड्न जरुरी छ – ओमप्रकाश पुन

२०७७ बैशाख १९ गते, शुक्रबार

आज १३१ आै अन्तर्राष्ट्रिय श्रमिक मजुर दिवस अर्थात मे डे । यसलाई कसैले मजदुर दिवस त कसैले श्रमिक दिवस भनेको पनि पाइन्छ , तर त्यो मेडे प्रतिकाे भ्रष्टीकरण हाे । वास्तवमा याे अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस हाे । अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस(८मार्च)लाई पनि अहिले नारी दिवस मात्रै भनेर भ्रष्टीकरण गर्न खाेजिदै छ । जाे गलत हाे र श्रमिक आन्दोलन प्रतिकाे बिषयान्तर हाे । यी दुबई दिनहरु भनेका तात्कालिक समयमा उत्पीडित तथा श्रमिक वर्गको गाैरवमय संघर्षको उल्लेखनीय उपलब्धि हाँसिल गरेका क्षण हुन् । तर अहिले पुजीवादी र एनजीओ कर्मीहरुले यसलाई भाेजभतेर र नाचगान गर्ने दिनकाे रुपमा मनाउने र सरकारी तथा गैरसरकारी बजेट निश्चित तप्कामा खर्च गर्ने गरेका छन् । जाे मेडे वा आठ मार्चकाे उपहास मात्रै हैन अधिकार प्राप्तिको संघर्ष प्रतिकाे अपहेलना हाे । यी दिवस शासक वा मालिक(शाहु)हरुले मनाउने हैन । श्रमिक र मजदुरहरुले मनाउने हाे । याे दिनमा बिदा र सुबिदा पनि श्रमिक / मजदुरहरुलाई दिने हाे, तर अहिले याे मालिक र शाहुहरुले मनाउने गरेका छन् । श्रमिक र मजदुरले यसलाई मनाउनै पाएका छैनन् । आठ मार्च अर्थात अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसमा पुजीवादी पार्टी र संघसंस्थाका माेटाघाटा महिलाहरु गहना प्रदर्शन गर्दै भाेजभतेरमा मस्त हुन्छन् भने मे एक अर्थात अन्तरास्ट्रिय श्रमिक मजदुर दिवसको दिन पुजीवादी पार्टीका कथित ट्रेड युनियनकाे नाममा गाडी मालिक र उद्योग पतिहरु तथा एनजीओकर्मीहरु भाेज भतेरमा मस्त हुन्छन् । यीनले त्यस दिन श्रमिक अधिकार र संघर्षको कुरा गर्दैनन् बरु रमाइलो गरेर श्रमिक / मजदुरको आन्दाेलनलाई कम्जोर पार्ने वातावरण तयार पार्छन् । त्यसकारण श्रमिक मजदुरहरुले मेडेकाे ऐतिहासिकता र संघर्षको महत्वलाई गहिरो गरि बुझ्न जरुरी छ । श्रमिक र मजदुरको पेशागत आन्दोलनलाई राजनीतिक आन्दोलन संग जाेड्न जरुरी छ ।
श्रमिक मजदुर तथा महिलाकाे अधिकार पुजिवादले दिएको हैन । पुजिवाद र त्यसका सञ्चालक पुजिपती वा शाहुहरुका बिरुद्धकाे संघर्षबाट नै मजदुर श्रमिकहरुले अधिकार पाएका हुन । सन १८४८ मा माक्र्स र एङ्गेल्सले कम्युनिस्ट घाेषणापत्र जारी गरेपछि नै मजदुर आन्दोलनले सहि दिशा पकडेकाे पाइन्छ । मजदुर अर्थवादमा रुमल्लिएकाे र दिशाहिन हुदै गएको मजदुर आन्दोलन माक्र्सवादी बिचारकाे प्रभावमा नै युराेपकाे घेरा काटेर अमेरिका लगाएत संसारका थुप्रै देशहरूमा फैलिएको हाे । सन १८८६ मे १ मा अमेरिकाको सिकागाे शहरमा ठुलाे मजदुर श्रमिक बिद्रोह भयाे । हजारौं मजदुरहरु गिरफ्तार र घाइते भए । दर्जन माथि मजदुरलाई त्यतिबेलाका पुजिपति शासकले फाँसी दिए र जेल हाले तर अन्ततः मजदुर आन्दोलनको जित भयो । आन्दोलनकाे बलले पुजीवादी उद्योगपतीहरुले मजदुरका आठ घण्टा काम, आठ घण्टा मनाेरंजन, आठ घण्टा आराम र संगठन खाेल्न पाउने मागलाई स्विकार गर्न बाध्य भए । त्यसैलाई पछि संसारभरि अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको रुपमा मनाउने निर्णय गरियो । त्यसलाई हाल आएर पुजीवादी साम्राज्यवादीहरुले पनि स्विकार गरे र संयुक्त राष्ट्रसंघको आइएलओ महासन्धि अन्तरगत पनि राख्न बाध्य भए । याे संसारभरि लाेकप्रिय हुदै गएको समाजवादी बिचारकाे प्रभाव थियो । संसारमा जति पनि श्रमिक तथा उत्पीडित जनताको पक्षमा मानवअधिकार तथा कानुनको क्षेत्रमा कागजमा मात्रै भएपनि अधिकारको कुरा पुजिवादीहरु लेख्न बाध्य हुनुको पछाडि समाजवादी बिचार र त्यसको आलाेकमा चलेको आन्दोलनको परिणाम हाे । अहिले पनि अतिकेन्द्रिकृत पुजिवाद अर्थात उत्तरसाम्राज्वादका कारण श्रमिक मजदुरहरुकाे अवस्था संकटग्रस्त हुदै गएको छ भने त्यसका बिरुद्धकाे आन्दोलन पनि बलसाली हुदै गएको छ । अहिले काेराेना भाइरसका कारण पनि सबैभन्दा बढी श्रमिक बेरोजगार अमेरिका लगाएतका पुजीवादी उत्तरसाम्राज्वादी मुलुकहरूमा नै भएका छन् । पछिल्लो पटक करिव तीन कराेड अमेरिकी श्रमिक नागरिकले बेरोजगार भएको निवेदन पेश गरेका छन् । याे भनेको पुजिवादकाे असफलता र समाजवादको अपरिहार्यता हाे । नेपालमा पनि दलाल पुजिवादकाे असक्षमताका कारण देश बिदेशमा रहेका लाखौं श्रमिक मजदुर बिचल्लीमा परेका छन् । त्यसकारण आज बिश्वब्यापी रुपमा संझना गरिरहेको र मनाई रहेकाे १३१ अौ अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसरमा नेपालका श्रमिक मजदुरले पनि यसलाई संघर्ष दिवसको रुपमा मनाउन जरुरी छ । यसलाई ट्रेड युनियन अधिकारकाे रुपमा मात्रै नभएर सत्ता राजनितीक संघर्षको रुपमा लिनुपर्छ । सत्ता सधै बर्गिय हुन्छ । अहिले पुजीवादी सत्ता अर्थात शाहुहरुकाे सत्ता छ । शाहुहरुकाे सत्ता भएकोले अधिकार र शक्ति पनि उनीहरुको नै छ । त्यसैले अहिले देश लकडाउनमा रहेको बेला, श्रमिक मजदुरहरू बिचल्लीमा परेका बेला दलाल शासकहरु कुर्सीकाे लुछाचुडीमा लागेका छन् । यसले अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको उपलक्ष्यमा रुन्चे शुभकामना दिने शासक र शासक संरक्षित संघसंगठलाई गिज्याइरहेकाे छ । तसर्थ यश संगिन घडीमा म देश बिदेशमा रहनु भएका सम्पूर्ण श्रमिक तथा मजदुर दाजु भाइ, दिदीबहिनीहरुलाई शाहुहरुकाे सत्ता फाल्न, श्रमिक मजदुरहरुकाे सत्ता ल्याउन अन्तर्राष्ट्रिय श्रमिक भाइचारा संबन्ध कायम गर्दै बैज्ञानिक समाजवाद स्थापनाकाे लागि एकीकृत जनक्रान्तिकाे बाटोमा अगाडि बढ्न अपिल सहितको शुभकामना ब्यक्त गर्दछु ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु