शोधनान्तर स्थितिमा उल्लेख्य बृद्दि

२०७२ श्रावण ११ गते, सोमबार

काठमाडौं, ११ साउन । राष्ट्र बैंकले शोधनान्तर स्थिति उल्लेख्य बढेको जनाएको छ ।बैंकले शोधनान्तर स्थिति बढेसँगै मुलुकको बैदेशिक मुद्राकेा सञ्चिति पनि बढेको जनाएको छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७१/०७२ को जेठ मसान्तसम्ममा शोधनान्तर स्थिति १ खर्ब २७ अर्ब २० करोड रुपैयाँले धनात्मक रहेको जनाएको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो सञ्चिति १ खर्ब ९ अर्ब ५६ करोड रुपैयाँले मात्रै बचतमा थियो । वस्तु व्यापार घाटा उच्च रहेपनि सेवा तथा ट्रान्सफरतर्फ उल्लेख्य बचत कायम रहेकोले शोधनान्तर स्थिति उल्लेख्य बचतमा रहेको हो ।
त्यसैगरी, बैदेशिक मुद्रा सञ्चिति २१ प्रतिशतले बढेर ८ खर्ब ९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा २०७१ असार मसान्तको तुलनामा १४.२ प्रतिशतले बढेर २०७२ जेठ मसान्तमा ७ अर्ब ९२ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ । जेठ महिनासम्मको आयातलाई आधार मान्दा विद्यमान विदेशी विनिमय सञ्चिति करिब १३.१ महिनाको वस्तु आयात र करिब ११.३ महिनाको वस्तु तथा सेवा आयातको लागि पर्याप्त रहेको छ ।
यसैबीच ,२०७१ असार मसान्तको तुलनामा २०७२ असार मसान्तमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ५.२ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ०.९ प्रतिशतले अवमूल्यन भएको थियो । २०७२ असार मसान्तमा अमेरिकी डलर एकको विनिमय दर १०१.१४ रुपैयाँ पुगेको छ । २०७१ असार मसान्तमा उक्त विनिमय दर ९५.९० रुपैयाँ रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु