शुक्लाफाँटा वन्यजन्तु आरक्षमा भिषण आगलागी

२०७२ जेष्ठ १४ गते, बिहीबार

काठमाडौँ, १४ जेठ । शुक्लाफाँटा वन्यजन्तु आरक्षमा भिषण आगलागी भएको छ । आरक्षको १५ किलोमिटरको दायरामा आगलागी भएको आरक्ष कार्यालयले जनाएको छ ।आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार आरक्षको पलियाँ, मालुवेला, वर्कौला, मझगाउँ, चाँदमारी, बाबा तालको उत्तरतर्फको क्षेत्रमा तीन दिनदेखि व्यापक आगलागी भइरहेको छ ।
आगो निभाउनका लागि आरक्ष कार्यालयका १५ जना कर्मचारी र नेपाली सेनाका ७० जवान परिचालन गरिए पनि आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
घाँसे मैदान पूरै आगलागीका कारण जले पछिसंरक्षित जनावरसमेत प्रभावित भएका छन् । “संरक्षित जनावरमा नोक्सानी पुगेको खबर आएको छैन” अधिकृत ढकालले भने , “आरक्षको कोर एरियामै भिषण आगलागी भएकाले निभाउनका लागि हम्मेहम्मे परिरहेको छ ।”
आरक्षको वरिपरिका बासिन्दाले आरक्षमा आगो लगाएमा नयाँ घाँस उम्रिने र च्याउ पाउने भन्दै ठाउँठाउँमा आगो लगाउन थालेकाले नियन्त्रण गर्न गाह्रो छ उनले भने , “एक ठाउँको आगो नियन्त्रणमा लिन्छौँ अर्को ठाउँमा आगो लगाई दिने गरेका छन् ।”
जेठ महिनामा मात्रै आरक्षमा १५ पटक आगलागी भएको उनले बताए । आगलागीका कारण जनावर एक ठाउँबाट अर्को ठाउँमा भाग्ने क्रम जारी रहेकाले चोरी सिकारी बढ्न सक्ने भएकाले वन रक्षकलाई यसबारे चनाखो बनाएको आरक्ष कार्यालयले जनाएको छ । आगलागीका कारण पुगेको क्षतिको विवरण सङ्कलन कार्य जारी रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु