शिलान्यास – बलराम तिमल्सिना

२०७६ कार्तिक ७ गते, बिहीबार

भोलि राजधानीमा छ
विज्ञान भवनको भव्य शिलान्यास
प्रमुख अतिथि छन्-
देशकै ठूलो कम्युनिष्ट पार्टीका अध्यक्ष !

शिलान्या समारोहमा
हुने छैनन् कुनै वैज्ञानिक
कुनै इञ्जिनियर
कुनै सिकर्मी डकर्मी
अहँ कोही हुने छैनन् !

बरु त्यहाँ हुने छन्
पण्डित जी
सुरुमा मङ्गल धून बज्ने छ
वेदका ऋचाहरू पढिने छ
शङ्ख बज्ने छ
घण्ट हल्लिने छ
दीयो बालिने छ
इट्टा राखिने छ
अविर हालिने छ
अध्यक्ष कमरेडले
हातमा पानी समाउँने छन्
पण्डितले भनेको मन्त्र दोहोर्याउँने छन्
र भव्य शिलान्यास सम्पन्न हुने छ ।

उद्घाटन समारोहमा
कुनै लामा आउँने छैनन्
कुनै पाश्चर आउँने छैनन्
कुनै मुल्लाह आउँने छैनन् !

कमरेड
होली वाइन पनि पिउँनु हुन्छ
त्यो पिसाव बनेर बगिहाल्छ
कमरेडको नशामा बग्छ
हिन्दू रगत
तमाम परिवर्तनपछि पनि
कमरेडले रगत शुध्द राख्नु भएको छ
त्यसैले जव
अनुष्ठानको समय आउँछ
कमरेड हिन्दू अवतारमा फर्कनु हुन्छ !

कमरेड सोच्नु हुन्छ-
यो हिन्दू राजाले चलाएको देश
जो आज मैले चलाएको छु
राजा नभएको न्यास्रो
नागरिकहरूलाई नपरोस
कमरेड यस्तो सोच्नु हुन्छ
र भोलि कमरेड
नुहाइधुवाई गरेर
होली वाइनको गन्ध मेट्नु हुन्छ
जनै फेर्नु हुन्छ
र कमरेड शिलान्यासमा आउँनु हुन्छ !

कमरेडको हिन्दू अवतार अचेल
उनका कार्यकर्तालाई खुव मन पर्छ
त्यसैले
जव कमरेड शिलन्यास गर्न
धार्मिक विधिपूर्वक बस्नु हुन्छ
उनीहरू कर्तल ध्वनीसहित
‘महान कमरेडको- जय’
नारा लगाउँछन् !

भोलि कमरेडले गर्ने
भव्य शिलान्यास समारोह छ
यो दिनको चयन पनि
कमरेडहरूले
ज्योतिष हेराएर गरेका हुन् !

प्रतिक्रियाहरु