‘शिक्षा क्षेत्रका उजुरी सबैभन्दा बढी ‘

२०७४ कार्तिक २० गते, सोमबार

काठमाडौं, २० कात्तिक । । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले ६ नं कर्णाली प्रदेशमा सबैभन्दा बढी उजुरी शिक्षाको परेको कार्यपत्र सार्वजनिक गरेको छ । आइतबार जुम्लामा पत्रकारबीच गरेको अन्तक्र्रिया कार्यक्रममा यो प्रदेशमा मन्त्रालयगतरुपमा शिक्षामा बढी उजुरी परेको आयोग सुर्खेतका कार्यालय प्रमुख रविलाल पन्थले जानकारी दिए । “सबैभन्दा बढी उजुरी ४०१ छन्, जसमा ४९ फछ्र्यौट भएको र ३५२ उजुरी बाँकी रहेका छन्”– प्रमुख पन्थले भने । उनका अनुसार शिक्षामा १२४ उजुरी परेकामा १४ फछ्र्यौट भएका छन् ।
त्यस्तै, संघीय मामिलामा १००, वन तथा भू–संरक्षणमा ४१, ऊर्जामा १९, स्वास्थ्यमा १८, खानेपानी तथा सरसफाइमा १५, सहरी विकासमा ११ उजुरी परेको प्रमुख पन्थले बताए । आयोगमा परेका सबै उजुरीमाथि प्रारम्भिक र विस्तृत अनुसन्धान भइरहेको उनको भनाइ थियो । दण्डात्मक, निरोधात्मक र प्रवद्र्धनात्मक तीनखम्बे रणनीतिका साथ आयोगले आफ्नो काम गर्दै आएको बताउँदै उहाँले वार्षिक कार्यतालिका अनुसार १३ वटा प्रवद्र्धनात्मक कार्यक्रम विद्यालयमा र नौ जिल्लामा गर्दै आएको उल्लेख गरे ।
आयोग सुर्खेतमा परेका उजुरीको प्रकृतिमा ः गुणस्तर विद्यालय भवन, छात्रवृत्तिको रकम दुरुपयोग, पाठ्यपुस्तक वितरणमा अनियमितता, विद्यालय कोषको रकम हिनामिना, शिक्षक कर्मचारी नियुक्तिमा अनियमितता भएको उल्लेख छ ।
त्यसैगरी, सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता, उपभोक्ता समितिमार्फत हुने गरेका विकास निर्माणका काम गुणस्तर नभएको बताइएको छ । उपभोक्ता समितिको गठन प्रक्रिया, स्थानीय निकायको आन्तरिक आयको विनियोजन खर्च करार कर्मचारी नियुक्तिमा अपारदर्शिता, औषधि वितरण र खरिदमा अनियमितता, भवन सडक र पुल मापदण्ड र स्टिमेटअनुसार नबनेको, गुणस्तरहिन संरचना र नक्कली बिल भर्पाइ बनाइ सरकारी रकम हिनामिना गरेको विवरण समेटिएका उजुरी परेको आयोगले जनाएको छ ।
जुम्ला पुगेको अख्तियारले जिल्लाका सम्पूर्ण कार्यालय प्रमुखमार्फत सबै राष्ट्रसेवक कर्मचारीलाई पदीय मर्यादामा रहेर काम गर्न, कर्मचारी आचारसंहिताको पालना गर्न र सरकारी बजेटको सही सदुपयोग गर्न निर्देशन दिएको छ ।
त्यसैबीच, आयोगले चन्दननाथ माविका विद्यार्थीसँग पनि भ्रष्टाचार र सुशासनका विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रियाहरु