शिक्षकको राजनीतिक अधिकार कटौती भएकामा चिन्ता

२०७३ मंसिर १८ गते, शनिबार

काठमाडौं, १८ मंसिर । नेपाल शिक्षक महासङ्घको दुईदिने विधान अधिवेशनले शिक्षा ऐनको आठौँ संशोधनमा शिक्षकको राजनीतिक अधिकार कटौतीप्रति आपत्ति जनाएको छ । यही मङ्सिर १६ र १७ गते यहाँ सम्पन्न अधिवेशनपछि महासचिव तिलक कुँवरले जारी गरेको विज्ञप्तिमा आफ्ना सुझावानुसार बदलिँदो परिस्थिति अनुरुप शिक्षा ऐनलाई परिष्कृत र परिवर्तन गर्न माग गरिएको छ । ऐनले कुनै पनि राजनीतिक दलको जिल्ला कार्यसमितिमा शिक्षकलाई बस्न निषेध गरेको छ ।
शिक्षा मन्त्रालयद्वारा शिक्षा नियमावली संशोधनका क्रममा पनि आफ्ना सुझाव लागू गर्न महासङ्घले माग गरेको छ । महासङ्घको मूल नारा ‘अधिकार र कर्तव्यको लागि शिक्षक एकता’ को भावना बमोजिम विद्यालय शिक्षाको अपेक्षित सुधार गर्नका लागि योजनाबद्ध ढङ्गले प्रयत्नशील रहनका लागि आफ्ना शिक्षकलाई अधिवेशनले आह्वान गरेको छ । -रासस

प्रतिक्रियाहरु