शासकसँग नागरिक संवाद – बलराम तिमल्सिना

२०७६ पुष २० गते, आईतवार

हामी नागरिकका छात्तीतिर
लाखौं बन्दूक सोझ्याइसकेर पनि
हाम्रा टाउकामाथि उडाउन
दर्जनौं वम–वर्षक विमान तयार राखेर पनि
हरेक नागरिकलार्ई पुग्ने
दश दश गोली तयार पारेर पनि
जव तिमी फेरि डराउँछौ हामीसँग
हामी निसश्त्र नागरिकहरूसँग
त्यसपछि हामीलार्ई लाग्छ–
संसारमा सवैभन्दा कायर प्राणी
शासकहरू हुन्छन् !

गरिसकेर पनि फलामे किल्लाबन्दी
ढोकाहरूमा राखिसकेर पनि
सशस्त्र पाले पहरा
गोली छेक्ने गाडीमा सवार भैरहदा पनि
सडकमा हिँडिरहेका
आफ्नै मतदातासँग डराएर
तथाकथित सवारीको उर्दी लगाएर
जव सुनसान बनाइन्छ सडक
र क्रुर साइरन बजाउँदै दौडन्छन्
हाम्रै पेट काटेर किनिएका गाडीहरू
त्यसपछि हरेक नागरिकलार्ई लाग्छ लाग्छ–
शासकहरू संसारकै लज्जित प्राणी हुन ।

सुनका कचौरामा थापेर
हामी रगतका रगत पसिना
राज्यको अचानोमा राखेर
शासनको खुकुरीले छप्काएर
व्यवस्थाको प्रेसर कुकरमा पकाएर
चाँदीका थालीमा चाँदीकै चम्चाले
डकारिसकेपछि पनि हाम्रो हाड–छाला–मासु
चोर विरालोले ठेकी हेरेझैं
टेवुलमुनिबाट हेर्ने तिम्रा हातहरू देखेपछि
यस्तो लाग्छ–
यो संसारमा भोकले सवैभन्दा आक्रान्त प्राणी
केवल शासक र अनि शासकहरू नै हुन ।

अपराधीहरूसँग अङ्कमाल गरेर
श्रम चोरहरूसँग साँठगाठ गरेर
लुटेराहरूसँग लुटपुटिएर
हत्याराहरूसँग हार्दिकता बढाएर
नैतिकहीनहरूसँग नाता गाँसेर
अपराधीहरूसँग आत्मीयता वाँडेर
हामी नागरिकहरूको इच्छा बेगर
हामीमाथि अनैतिक आदेशहरू लाद्ने
ओ संसारका शासकहरू हो !
मान्छे डरसँग डराउँन छोड्यो भने के हुन्छ ?
नागरिक कित्ताले पनि
शासित भैरहने मर्यादा तोड्यो भने के हुन्छ ?

तिमीलार्ई त औधी डर लाग्छ नि है शासक
इतिहास भन्ने कुरा
तिमी डो¥याएर हिँड्ने बाख्राको पाठो होइन
जो तिम्रो सिर्कनुको सप्को
र हरियो घाँसको झल्को भएपछि
सधैँ तिमीले खटाएको बाटोमा हिँड्छ
तातोपानी तताएको
र खुकुरी उध्याइएको ठाउँसम्मै
केही नसोची हिँडिरहन्छ
एक पटक सम्झ त
इतिहासले बाटो मोड्यो भने के हुन्छ ?

प्रतिक्रियाहरु