शान्ति दिवसले पुनर्वहाली गर्न नसकेको शान्ति – पृथिछक वुढा मगर

२०७४ आश्विन ५ गते, बिहीबार

‘संयुक्त राष्ट्र संघले सन १९८१ सेप्टेम्वर महिनाको तेस्रो मंगलवार अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने घोषणा गरेअनुसार २१, सेप्टेम्वर सन १९८२ देखि यो दिवस मनाउन थालिएको थियो । नेपालमा भने सन् २००८ देखि मनाउन शुरु गरियो । यो पहलकदमी आफैँमा खुसीको क्षण हो । यो अवधिसम्म विश्व जगतले धेरै दिवसहरु मनाइसकेको छ । धेरै सभा, सम्मेलन, गोष्ठी र ¥याली निकाली सकेको छ । आजको दिन नेपालमा पनि ¥याली निकालिने छ । हामी पनि ¥यालीमा सहभागी हुने छौँ । अर्को वर्षमा पनि शान्ति दिवस यसरि नै मनाउने छौँ । आजको जस्तै ¥याली निकालेर दिवसमा सहभागी हुने छौँ, उत्सव मनाउने छौँ, परेवा उडाइने छ । द्विप प्रज्वलन गरिनेछ । विश्वमा शान्ति छाओस् भनी कामना गरिनेछ । यो वर्षौँदेखि निरन्तर चल्दै आइरहेको छ र पछिसम्म पनि निरन्तर चलिरहने छ ।
पृथ्वीमा धेरैवाद र सिद्धान्तहरुको उदय भए । हामीले वाद वनायौँ, पथ वनायौँ, सिद्धान्त वनायौँ । तर दुर्भाग्य मान्छेको भविष्य वनाएनौँ, भाग्य वनाएनौँ, देश वनाएनौँ । त्यसतर्फ हामीले ध्यान दिएनौँ । सिद्धान्तले हामीलाई एकतामा वाँध्न सकेन । हामी विभाजित भयौँ, टुक्रा भयौँ, सँधै कलहमा अल्झियौँ, झगडामा फस्यौँ, जातमा फस्यौँ । पहाड र मधेसको विचमा दरार ल्यायौँ । सिद्धान्तका विविध धारहरुमा उभियौँ, धेरै शाखाहरुमा वाँधियौँ, एकतामा वल हुन्छ, भुल्यौँ । अनेकता भयौँ, कमजोर भयौँ, अनुभूति गरेनौँ । तेरो र मेरो भयौँ, यो हावा, पानी, आकास, सूर्य, तारा न तेरो हो न मेरो हो, विचारै गरेनौँ, हामीलाई सिद्धान्त प्यारो भयो । विचारधारा प्यारो भयो । तर, मान्छेको लागि मान्छे कहिल्यै प्यारो हुन सकेन ।
आज सेप्टेम्वर २१, आजैको दिन धेरै देशहरुले यो दिवस मनाउँदै होलान् । तर यही दिन, यसै समयमा कयौँ हतियार कारखानाहरुमा वम र गोलाहरु पनि उत्पादन गरिँदै होलान् । सीमाहरुमा सशस्त्र जत्थाहरु मेसिनगनको ट्रिगर दबाउन करोडौँ हातहरु तम्तयार होलान् । कुनै पहाडको फेदीमा छापामारहरु कारवाहीको योजना वुन्दै होलान् । कयौँ गोप्य कार्यालयहरुमा शान्ति दिवसको अवसरलाई उपयोग गरेर कतिपय माफियाहरु भयानक खेलको योजना बनाउँदै होलान् । भुगोलको कुनै न कुनै भागमा मानिसहरुका डर र त्रासका कति चित्कार र क्रन्दनहरु गुन्जिरहेका होलान् ? कति मानिसहरु हताहत भइरहेका होलान् ? कति मानिसहरु विस्थापित भइरहेका होलान् ? कति मानिसहरुले आफ्नो परिवार गुमाइरहेका होलान् ? कति वालवच्चाहरु अनाथ भइरहेका होलान् ? कति मानिसहरु विधुवा–विदुर भइरहेका होलान् ? कति विकासका पुर्वाधारहरु नष्ट भइरहेका होलान् ? परिणामतः आज रोग र भोगको सिकार भइरहेका छौँ हामी विश्वका मान्छेहरु ।
शान्तिको मुहान कहाँ छ ? शान्ति कसरी हुन्छ ? शान्तिको श्रोत के हो ? कसरी त्यसलाई पाउन सकिन्छ ? त्यसका आधारहरु के–के हुन् ? यो खोजको विषय हो । हामी यसलाई खोज्न भौतारिरहन्छौँ । तर, खासमा शान्ति शान्ति टाढा छैन, हामी सवैको विचमा छ, हाम्रै निकटमा छ, हाम्रै साथमा छ, हामी भित्रै लुकेको छ, जानीजानी हामीले लुकाएका छौँ । त्यसलाई वाहिर निकाल्नु पर्छ, कसरी निकाल्ने ? आजको बहस यही विषयमा केन्द्रित हुनुपर्छ, आज सवैले एक पटक यसको समीक्षा नगरी हुँदैन ।
शान्ति धेरै संवेदनशील हुन्छ, शान्ति कमोल हुन्छ । यो कुनै एउटा सानोभन्दा सानो अणुले पनि अस्तव्यस्त हुन सक्दछ । सानै कोलाहलले पनि त्यो हल्लिन सक्दछ । सानै ठक्करले पनि यो चकनाचुर हुन सक्दछ । त्यसैले त आज त्यो हामीबाट गायव भएको छ । हामीवाट कतै लुकेको छ, हराएको छ । मान्छेसँग जुन घातकतत्व छ त्यसबाट शान्ति तर्सिएको छ । यदि शान्तिलाई ल्याउने हो भने मान्छेको संगतमा रहेका तमाम घाटक अस्त्र र शस्त्रहरुलाई यो पृथ्वीबाट हटाइहाल्नुपर्छ । तव शान्ति हाँसी खुसी आउनेछ, रमाई रमाई आउनेछ ।
अहिले विश्व रङ्गमञ्च रगतले रँगिएको छ । मान्छे नमरेको कुनै समय छैन । हाम्रो शिरमा हरदम मृत्यु नाचिरहेको छ । मृत्युले हामीलाई निल्न खोजिरहेको छ । त्यो मृत्युलाई छल्ने प्रयत्नमा हामी परिवेशवाट भागिरहेका छौँ । तर मृत्युले हामीलाई पछ्याईरहेको छ । जताततै मृत्यु मात्रै छ । अघि–पछि, दायाँ–वायाँ जताततै छ मृत्यु । तर हामीहरु वाँच्न चाहन्छौँ । अस्वभाविक मृत्यु टार्न चाहन्छौँ । शान्तिमा वाँच्न चाहन्छौँ । स्वभाविक स्थितिमा वाँच्न चाहन्छौँ । आज विश्वका शक्तिशाली राष्ट्रहरुको बीचमा नयाँ–नयाँ घाटक हतियारहरु उत्पादनमा प्रतिस्पर्धा भइरहेको छ । किन यस्तो भइरहेको छ ? यसको अर्थ के हो ? रात दिन नयाँ–नयाँ शक्ति र क्षमताका हतियारहरु परीक्षण गर्नुको कारण के हो ? यो कस्को लागि हो ? कस्को सुरक्षाको लागि हो ? कस्को हत्या गर्नको लागि हो ? मान्छेको होईन ? जवसम्म नदिको मुहानलाई व्यवस्थापन गर्न सकिँदैन तव त्यसको प्रवाहलाई कसैले रोकेर रोक्न सक्दैन । नदि वग्छ, जसरी पनि वग्छ । पर्खाल टोडेरै वग्छ । ठिक त्यस्तै विश्वका सरकारहरुले सर्वसाधारण मान्छेहरुलाई हतियार प्रयोगमा कानुनी रुपमा प्रतिवन्ध लगाएको त छ तर त्यसको उत्पादन प्रणालीमा भने कुनै रोकतोक छैन । त्यसैले यसलाई जति रोक्न खोजे पनि यो गैरकानुनी रुपमा जसरी पनि मान्छेहरुको विचमा आइरहेको छ । त्यसैले विश्वका सरकारहरुले त्यसको उत्पादन प्रणालीमै प्रतिबन्ध लगाउनु पर्छ तर सरकार स्वयम् हतियार निर्माण गरिरहेको छ । स्वयँले खरिदविक्री गरिरहेको छ । यसको अर्थ कुनै समयको महा युद्धको अवस्यम्भावी छ ।
हतियार उत्पादन गरिसके पछि त्यसको लागि वजार चाहिन्छ । हतियारको बजार युद्ध क्षेत्रमा फस्टाउँछ । चिजको खपत त्यतिखेर मात्रै हुन्छ जतिखेर वस्तुको आवश्यकता पर्छ । हतियारको आवश्यकता अस्थिरतामा हुन्छ । त्यसैले हतियार विक्री हुनको लागि अस्थिरता चाहिन्छ । युद्ध चाहिन्छ । यदि युद्ध नहुने हो भने हतियार विक्री हुनेछैन । त्यसैले मुनाफाको लागि युद्धको वातावरण सृजना गरिन्छ । आज त्यही मुनाफाकै कारणले अस्त्रहरु वैधानिक र अवैधानिक दुबै रुपमा उत्पादन र खरिद विक्री हुँदै आएको छ । अन्ततः त्यो मान्छेहरुको वीचमा आइपुगेको छ । मान्छेहरुको मनमा मानवताको सीमा तोडिदिएको छ । मान्छेसँग मान्छेले डराएर हिँडने वातावरण बनाएको छ । किनभने मान्छेको बीचमा हतियार छ ।
एकातिर खरवौँ डलर नष्ट हुने गरी युद्ध भइरहेको छ भने अर्कोतिर खान नपाएर रोग र भोकले कति मानिसहरु मरिरहेको दृष्टान्त हाम्रो पृथ्वीमा छ । जुन ग्रहमा मान्छेहरुको हत्या गर्नको लागि अस्त्र र सशस्त्रको व्यापार गरिन्छ त्यो ग्रहमा द्वन्द्व नभएर के हुन्छ ? त्यस ग्रहमा बर्वादी सुरु नभएर के हुन्छ ? त्यस मुलुकमा भोकमरी नभएर के हुन्छ ? आज हामी वर्वादीको धरातलमा उभिएका छौँ । भोकमरीको भुमरिमा पिल्सिरहेका छौँ । हामी शान्तिपूर्ण वातावरणमा वाँच्न पाउनु पर्छ । त्यसको प्रत्याभूति दिलाउने काम राज्यको हो तर पृथ्वीका सयौं राज्यहरु सिँगो पृथ्वीलाई ससाना द्विपहरुमा विभाजन गरेर सिमा रक्षाको नाममा नौजवानहरुलाई हतियार भिराएर मान्छेको सिकार गर्न लगाइरहेको छ ।
त्यसैले हामी पृथ्वीका मानिसहरु एक भयानक दुःखमा वाँचिरहेका छौँ । विश्वका राज्यहरुसँग संगठित सशस्त्र दस्ता छ । पृथ्वीलाई खरानी वनाउन सक्ने आणविक अस्त्र छ । अब ती सशस्त्र युवाहरुलाई सीमामा होइन, मानव सेवामा परिचालन गरिनुपर्छ । ध्वंश होइन, सिर्जनामा लगाउनु पर्छ । जरजर मानव बस्तीमा पुगेर अस्पतालहरु निर्माण गर्नुपर्छ । स्वच्छ खानेपानीको अभाव खेपिरहेका मानिसहरुको वस्तिहरुमा गएर पँधेराहरु निर्माण गर्नुपर्छ । युद्धले ध्वस्त भएका पाठशालाहरु निर्माण गर्ने स्वयम्सेवक दस्ताको रुपमा रुपान्तरण गरिनु पर्छ । पृथ्वीका मान्छेहरुले त्यही चाहेका छौँ । यो आवाजलाई विश्वका सवै १९८ राज्यका नेताहरुले सुन्नुपर्छ । शान्ति दिवसको दिन हामी पृथ्वीका मान्छेहरुले राज्य र संयुक्त राष्ट्र संघसँग यही माग गरिरहेका छौँ । यो मेरो आवाज हो । यो जनताको आवाज हो । पृथ्वीवासीहरुको आवाज हो । मान्छेले शान्ति चाहन्छ । उ भयमुक्त हुन चाहन्छ ।
दिनहुँ हामी सुन्छौँ, आज फलाना देशले यति दुरीको शक्तिशाली मिसाईल परीक्षण ग¥योे । फलाना देशले यस्तो हतियार वनायो । फलाना देशमा यति आतंकवादी मारिए । यति सर्वसाधारणको नरसंहार भयो । यति सैनिकले विरगति प्राप्त गरे । चाहे जनता होस्, चाहे आतंकवादी होस्, चाहे सैनिक होस, पेशा जुनसुकै भए पनि यहाँ मान्छेले मान्छे मारिरहेको छ । मान्छेले मान्छेलाई जितिरहेको छ, मान्छेले मान्छेसँगै हारिरहेको छ । मान्छेको जित र हारको लडाइँ भित्र मान्छेले सिँगो लडाइँ हारिरहेको छ । यहाँ कसैको वावु मरिरहेको छ, कसैको आमा मरिरहेको छ, कसैको दाजु, कसैको भाई, कसैको छोरा, कसैको छोरी, कसैको दिदी, कसैको वहिनी । नातामा त्यो आफ्नै पर्छ, मानवताको नाता । मान्छेले आफ्नैैसँग पराजयको लडाईँ लडिरहेको छ । र त हामी हारिरहेका छौँ ।
हामी दश वर्ष लामो द्वन्द्वमा फस्यौँ । ध्वस्त भएका भौतिक सँरचनाहरुको पुनर्निर्माण हुन नपाउँदै ७२ वैशाख १२ मा गएको महाभूकम्पले हामीलाई फेरि थिलोथिलो पारेर गयो । प्रकृतिले पराजित गरेर गयो । मान्छेको लडाईँ प्राकृतिकसँगको लडाईँमा केन्दिैत हुनु जरुरी थियो । तर, मान्छेले आफ्नो शक्ति मान्छे मार्न मै केन्द्रित ग¥यो । मान्छे आफ्नै कलहमा अल्झियो । आफैसँग लडिरह्यो । आफैसँग पराजित भईरह्यो ।
मान्छे त्रास भित्र रुमलिरहेको छ । मान्छे मान्छेकै त्रासले भागिरहेको छ । मानव निर्मित विस्फोटक पदार्थले उसको ध्यान खिचिरहेको छ । समय धुकचुकमै वितिरहेको छ । विहान घरवाट निस्केको मान्छे साँझ फर्किने निश्चित छैन । कहिलेकहाँ कसलाई के हुने हो ? ध्यान अन्तै मोडिएको छ । प्राकृतिक पर्यावरणको वारेमा मान्छेले कसरी ध्यान दिन सक्छ ? प्राकृतिक विपत्तिको वारेमा उ कसरी निडर भएर उभिन सक्छ ? सम्पुर्ण मानसिक शक्ति मान्छेवाट कसरी वच्ने भन्ने कुरामै केन्द्रित भएको छ । हाम्रो जिन्दगी कति दुःखी छ ? कति कहालीलाग्दो छ ? कति भयानक छ ? कति विस्मय छ ? कति अश्रुमय छ ? कति दिक्दार छ ? यो कस्तो जिन्दगी जिइरहेका छौँ ? यो पनि कुनै जिन्दगी हो ? यस्तो जिन्दगीको कुनै सार्थकता छ ? सँधै डर, त्रास र अभावमा पिल्सिएर जिउनुको पनि अर्थ हुन्छ ? जीवन त खुसीले जिउनु पर्छ, हाँसेर जिउनु पर्छ । स्वातन्त्रले जिउनु पर्छ । शान्तिले जिउनु पर्छ । तर आज पृथ्वी रक्तकुण्डमा परिणत भइरहेको छ । शक्ति राष्ट्रहरुको वीचमा अस्त्रशस्त्रहरुको होडवाजी चलिरहेको छ । आजको विश्वमा पचास हजारभन्दा वढी नाभिकिय हतियारहरु छन् । तिनीहरुको कुल शक्ति विस हजार मेघाटनभन्दा वढी छ ।
सन १९४५ मा अमेरिकाले जापानको हिरोसिमामा खसालेको वम मात्र ०.५ मेघाटनको थियो । उक्त वमले एक लाख पचास हजार मानिसहरुको ज्यान लियो र ६० प्रतिशतभन्दा वढी घरहरु ध्वस्त वनायो । यो वम लिटिल व्वाईको नामले चिनिन्छ । हिजो आज दश मेघाटनसम्मका वमलाई मध्यम श्रेणीमा राखिएको छ । अमेरिका र रुससँग सय मेघाटनसम्मको वम छ । हिरोसिमामा खसालिएको वमभन्दा आजको विश्वमा भएका पचास हजार नाभिकिय हतियारहरुमा सत्र लाख गुणा वढी नाभिकिय शक्ति छ । यो शक्तिले विश्वलाई सत्र पटकसम्म ध्वष्ट पार्न सक्दछ । अमेरिका र रुस जस्तो एक देशलाई ध्वष्ट पार्न मात्र चार सय मेघाटन नाभिकिय शक्ति भए प्रयाप्त हुन्छ । यही वास्तविकता हो । यही वास्तविकता भित्र हाम्रो शिरमा मृत्यु नाचिरहेको छ । हाम्रो जिवन केवल एउटा स्विचको भरमा वाँचिरहेको छ ।
२४ अक्टोवर १९४५ मा स्थापना भएको संयुक्त राष्ट्र संघ जसको स्थापनाको उद्देश्य दोस्रो विश्वयुद्धमा भोगिएको विध्वँस संसारले फेरि भोग्नु नपरोस भन्ने हो । तर, अहिलेको अस्त्रशस्त्रको होडवाजी देख्दा यस्तो भान लागिरहेको छ कि मानौँ अव छिट्टै दुनियाँमा तेस्रो युद्ध हुने वाला छ । शक्ति राष्ट्रहरु हतियार उत्पादनमा प्रतिस्पर्धा गर्नुको कारण यही हो । हामी यही अनुमान लगाउन सक्छौँ, एक दिन अवस्य युद्ध हुनेछ । तेस्रो विश्व युद्ध हुनेछ । सिमाको नाममा युद्ध हुनेछ । धर्मको नाममा युद्ध हुनेछ । जातको नाममा युद्ध हुनेछ । पहिचानको नाममा युद्ध हुनेछ । शान्तिको नाममा युद्ध हुनेछ । न्यायको नाममा युद्ध हुनेछ । स्वतन्त्रताको नाममा युद्ध हुनेछ । प्रजातन्त्रको नाममा युद्ध हुनेछ । समाजवादको नाममा नाममा युद्ध हुनेछ । साम्यवादको नाममा युद्ध हुनेछ । आजको गतिविधि त्यही युद्धअन्तर्गतको एउटा अध्याय हो । एउटा तयारी हो । एक दिन यो विस्फोट हुनेछ । पक्कै हुनेछ ।
जापानको हिरोसिमामा अमेरिकाले खसालेको आणविक वम नजिकै भएकाहरु त्यसै विलाएका थिए । वम हानिएको मुख्य स्थान वरपर धेरै टाढासम्म पनि कुनै मानिसको अवशेष फेला परेको थिएन । अहिले रुस र अमेरिकासँग त्योभन्दा लाखौँ गुणा शक्तिशाली वम तयारी अवस्थामा छ । त्यही वमले सँसारका ठुला ठुला शहरहरुलाई एकै सेकेन्डमा भग्नावशेषमा परिणत गरिदिन सक्छ । हिरोसिमा र नागासाकीमा खसालेको वमले उत्पन्न गरेको रेडियो विकिरणले ६ करोडभन्दा वढी मानिसहरु मरेका थिए । योभन्दा खतरनाक हाईड्रोजन वमले यस्ता करोडौँ मानिसहरुलाई एकै सेकेन्डमा खरानी वनाउन सक्छ । यस्तो कुनै प्रकारको भयानक युद्धले सँसारको अन्त्य नै हुने अवस्था आयो भने वमले उत्पन्न गरेको कार्वनले पृथ्वीको तापक्रम ह्वात्तै वढाईदिने छ भने पर्यावरणमा शताव्दियौँसम्म पनि असर रहनेछ । पृथ्वीमा कुनै जीवको अस्तित्व रहने छैन । पृथ्वी खाली हुनेछ, शून्य हुनेछ, महाशून्य हुनेछ । उजाड मरुभूमि मात्रै हुनेछ । वाँकी सवै रित्तिएर जानेछ । सिद्धिएर जाने छ, पृथ्वी रित्तो हुनेछ, सुनसान हुने छ । निस्सार हुनेछ । सवै समाप्त भएर जाने छ, वाँकी रहने छ त केवल नाङ्गा र फुस्रा काला पहाडहरु, प्राणघातक वायुमण्डल, महासागरहरु, निरन्तर चलिरहने दिन र रात । आणविक दुनियाँमा मान्छेले पाउने उपहार यहि हो ।
अहिलेका चर्चित वैज्ञानिक स्टेफिन हकिङले भविष्यमा पृथ्वीको महाविपत्तिको रुपमा तिनवटा खतराहरुलाई अघि सारेको छ । आणविक युद्ध, जलवायु परिवर्तन र अनुवांशिक रुपले सृजित भाइरसहरु मानव अस्तित्वको लागि भविष्यका खतराको रुपमा संकेत गरिसकेको छ । त्यस्तै, २० औँ शताव्दीका भौतिक विज्ञानका महान् ज्ञाता अल्वर्ट आइन्स्टाईन जसले प्रतिपादन गरेको शुत्रको प्रयोग गरी अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा खसालेको आणविक वम र त्यसले गरेको विनासतर्फ इँगित गर्दै सम्भावित तेस्रो विश्व युद्ध भएमा कस्ता खाले हतियार प्रयोग होलान् भनी सोधिएको प्रश्नको जवाफमा उनले भनेका थिए, ‘तेस्रो विश्व युद्धको अनुमान त मैले गरेको छैन, वरु चौँथो विश्व युद्धमा भने केवल ढुँगा र माटोको मात्र प्रयोग हुनेछ ।’ उनको भनाइँको अर्थ, यदि पृथ्वीमा आणविक युद्ध भयो भने त्यसवाट पृथ्वीमा जिवनको अस्तित्व खतम हुनेछ । मानव जातिले अहिलेसम्म प्राप्त गरेका सवै उपलव्धिहरु नामेट भएर जानेछ । त्यस पछि आउने मानव सभ्यता फेरि ढुँगे युगवाट शुरु हुनेछ । आज मान्छे यही धरातलमा उभिएको छ । खतरै खतरामा उभिएको छ । विनाशै विनाशको वाटोमा अघि वढेको छ ।
अस्त्रशस्त्रको दुनिँयामा संयुक्त राष्ट्र संघले उत्तर कोरिया, इरान, अमेरिका, रुस, भारत, चीन, युरोप सवैको आणविक कार्यक्रममा पूर्णतः प्रतिवन्ध लगाउनु पर्छ । आणविक हतियारहरु मात्रै होइन, सवै खाले हतियार उत्पादनमा प्रतिवन्ध लगाउनु पर्छ । दुनियाँमा भएका घातक हतियारहरु सवै नष्ट हुनुपर्छ । पृथ्वीका मान्छे अमेरिकी विरोधी हुँदै होइन । रुसी विरोधी हुँदै होइन । भारत विरोधी हुँदै होइन । चिनियाँ विरोधी हुँदै होइन । युरोप विरोधी हुँदै होइन । वुलेटको विरोधी हो । वारुदको विरोधी हो । वमको विरोधी हो । ती मान्छेहरुमध्ये म पनि एउटा हतियार विरोधी हुँ ।
मानव इतिहास रगतले लेखिएको छ । इतिहासलाई पल्टाएर हेरियो भने यहाँ विगत तीन हजार वर्षमा पन्ध्र हजार लडाईँहरु भए । त्यही युद्धकै जगमा धेरै राज्यहरु उदाए । धेरै राज्यहरु विलाए । नयाँ–नयाँ सिमारेखाहरुमा द्विपहरु विभाजित भए । आज आएर मान्छे देश देशमा विभाजन भएको छ । वाद–वादमा विभाजन भएको छ, तन्त्र मन्त्रमा विभाजन भएको छ, जातजातमा विभाजन भएको छ, रङ्ग रङ्गमा विभाजित भएको छ, पहिचान पहिचानमा विभाजन भएको छ, धर्म धर्ममा विभाजन भएको छ, पहाड र तराईमा विभाजन भएको छ । समग्रमा मान्छे मान्छेमा विभाजन भएको छ । त्यसैले मान्छे आज आफैँसँग परतन्त्र भएको छ, आफ्नै कारणले, आफ्नै व्यवहारले ।
मान्छेको कुनै फरक जात हुँदैन । कुनै फरक धर्म हुँदैन । कुनै राष्ट्र हुँदैन । रगतको मूल्य चुकाएर निर्माण भएका युद्धमा आधारित यी राज्यहरु र यसका सिमारेखाहरु, धर्मको नाममा यहाँका हिन्दु, मुसलमान, इसाई र वौद्ध धर्महरु, आर्थिक विपन्नताले जन्माएका वर्ग र जातहरु जसले मान्छे मान्छेको विचमा विभाजनको विउ रोपेको छ यी संरचना कति घृणित छ । मान्छेको कुनै रँग हुँदैन । पानी जस्तै कन्चन हुनुपर्छ मान्छे । कोही एसियामा वस्छ भने उ एसियन वन्न सक्छ । कोही अफ्रिकामा वस्छ भने उ अफ्रिकन वन्न सक्छ । कोही अमेरिकामा वस्छ भने उ अमेरिकन वन्न सक्छ । कोही युरोपमा वस्छ भने उ युरोपियन वन्न सक्छ । त्यसैले मान्छेको प्राकृतिक रँग हुँदैन । हाम्रो रँग नक्कली हो, जात नक्कली हो, पहिचान नक्कली हो, थर नक्कली हो, राष्ट्र नक्कली हो, वाद नक्कली हो, धर्म नक्कली हो । सवै कपटी हो । यी तत्वहरुको नाममा मान्छेले मान्छे मारिरहेको छ । यसवाट मान्छेले उन्मुक्ति पाउनै पर्छ । सावधान हुनै पर्छ । यी सिविरहरुवाट मान्छेलाई वाहिर निकाल्नै पर्छ । तव यहाँ शान्ति हुनेछ । तव यहाँ समृद्धिको ढोका खुल्नेछ । तव मान्छेले यहाँ मान्छे भएर वाँच्ने छ ।
२१ सेप्टेम्वरको विश्व शान्ति दिवसको सार्थक यही हुनुपर्छ । आज २१ सेप्टेम्वरको दिन मान्छेले विद्रोह गर्नुपर्छ । यो शान्तिको निम्ति विद्रोह हुनेछ, यो वन्दुकको विरुद्धको विद्रोह हुनेछ, आणविक अस्त्रशस्त्र विरुद्धको विद्रोह हुनेछ, रँगभेद विरुद्धको विद्रोह हुनेछ, जातपात विरुद्धको विद्रोह हुनेछ, धर्म र अन्धविश्वास विरुद्धको विद्रोह हुनेछ । मानव सभ्यतालाई वचाउने हो भने यही अन्तिम विकल्पहो ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु