शान्तिपूर्ण सभा सम्मेलन गर्न पनि नपाउने ?

२०७४ बैशाख ९ गते, शनिबार

काठमाडौं, ८ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका स्थायी सदस्य धर्मेन्द्र वास्तोलाले सरकारले बैशाख ३१ गते गर्न लागेको स्थानीय तहको निर्वाचन खारेज नगरे देश द्वन्द्व र मुडभेडमा जाने बताएका छन् । नेकपा पश्चिम ताम्सालिङ् व्यूरोले चितवनको भरतपुरमा शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बास्तोलाले फाँसीवादी पुरानो संसदीय व्यवस्थाको संस्थागत बिकास गर्न स्थानीय तहको निर्वाचन घोषणा गरिएको ठोकुवा गरे । उनले स्थानीय तहको निर्वाचनको किन औचित्य छैन भनेर जनतालाई आफ्ना कुरा राख्न गरिएका सभाहरुमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्रीको निर्देशनमा प्रहरी लगाएर कुटपिट गर्ने र बिथोल्ने काम गरिएको टिप्पणी गरे ।
स्थानीय तहको निर्वाचन संसदवादी पुराना दलहरुका लागि जीवनमरणको बिषय भएपनि आफूहरुका लागि भने एक सामान्य परिघटना मात्रै भएको बास्तोलाको भनाई थियो । सबै दलहरु मिलेर राष्ट्रिय समस्याको पहिचान गरी बैज्ञानिक साम्यवादी शासन व्यवस्थामा गए मात्रै जनताको हित हुने बास्तोलाको तर्क छ । चितवनको भरतपुरमा बिहीबार नेकपाको आमसभालाई प्रहरीले हस्तक्षेप गरी बिथोलेको थियो । पत्रकार सम्मेलनमा बास्तोलाले प्रश्न गरे, ‘उनीहरुले बनाएकै संविधानले दिएको अधिकार प्रयोग गरेर शान्तिपूर्ण सभा सम्मेलन गर्न पनि नपाउने ?’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु