वैशाख १ गते रुपाकोट महोत्सव

२०७३ चैत्र २४ गते, बिहीबार

काठमाडौ, २४ चैत । खोटाङ जिल्लाको पर्यटकीयस्थल रुपाकोट डाँडामा प्रथम रुपाकोट महोत्सवको आयोजना गरिने भएको छ । नेपाली नयाँ वर्षको अवसर पारेर आगामी वैशाख १ गते प्रथम रुपाकोट महोत्सवको आयोजना गरिएको हो ।
रुपाकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै जिल्लाको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक जिल्ला समन्वय समिति, खोटाङका स्थानीय विकास अधिकारी राजनकुमार बिसीले जानकारी दिए ।
महोत्सवले पर्यटकीय क्षेत्र रुपाकोटको प्रचार–प्रसारका साथै योजना निर्माणका लागि उपयोगी हुने स्थानीय विकास अधिकारी बिसीको भनाइ छ ।
सदरमुकाम दिक्तेलबाट करिब तीनघण्टा पैदल यात्रापछि पुगिने रुपाकोटमा नयाँ वर्षको अवसर पारेर पिकनिक तथा प्राकृतिक मनोरम दृश्यावलोकनका लागि सयौँको सङ्ख्यामा मानिस पुग्ने गरेका छन् ।
मनोरम प्राकृतिक दृष्य, जैविक विविधता, विभिन्न प्रजातिका चराचुरुङ्गी, वन्यजन्तुका साथै महत्वपूर्ण जडिबुटी पाइने रुपाकोट क्षेत्रमा हरेक वर्ष नयाँ वर्षका दिन आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
रुपाकोट डाँडाबाट विश्वको सर्वाेच्च शिखर सगरमाथाको चुचुरो तथा अन्य हिमालहरु राम्ररी देख्न सकिन्छ । रुपाकोटको प्राकृतिक सौन्दर्यसंगै सोही क्षेत्रमा पर्ने सिद्धबाबाको गुफा दर्शनका लागि पनि उत्तिकै भक्तजन आउने गरेका छन् ।
वैशाख पूर्णिमाको दिन सिद्धबाबाको गुफामा जिल्ला तथा जिल्ला बाहिरका लामा भेला भएर पूजापाठ गर्ने गरेका छन् । रुपाकोट आसपासका बासिन्दाहरुले मनोकाङ्क्षा पूरा गर्नका साथै घर–परिवारमा सुखशान्ति मिलोस्, खेतीपाती सप्रियोस्, एवम् गाउँ, समाज र पशुचौपायामा दैविप्रकोप नपरोस भन्दै श्रद्धाकासाथ सिद्ध बाबाको पूजा गर्छन् ।
रुपाकोट क्षेत्रमा सिद्धबाबाले तपस्या गरेको स्थानका साथै महत्वपूर्ण जडिबुटीसमेत पाइने भएकाले अत्यन्तै पवित्र क्षेत्र मानिन्छ । महोत्सवका लागि रुपाकोट सामुदायिक वन उपभोक्ता समूहले चैतको दोस्रो सातामा अन्तरक्रिया पनि सम्पन्न गरेको थियो । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु