वैद्य माओवादी र एकीकृतबीच पार्टी एकता गर्न समिति गठन

२०७१ चैत्र १३ गते, शुक्रबार

काठमाडौ , १३ चैत । नेकपा-माओवादी र एकीकृतबीच पार्टी एकता हुने भएको छ । बिगत लामो समयदेखि एकता प्रक्रियाका लागि छलफल चलाइरहेको दुवै पार्टीबीच मालेमा, नयाँ जनवाद, जनविद्रोह, जनवादी केन्द्रीयता, तात्कालिन कार्यनीति लगायतका विषयमा समान धारणा बनेको निश्चित गर्दै पार्टी एकता गरिने भएको हो ।वैचारिक तथा राजनीतिक प्रस्तावमा समान धारणा बनेकोले पार्टी एकताको प्रक्रियालाई अगाडि बढाउने तथा आवश्यक तयारीका लागि दिुई पार्टीको तर्फबाट चार/चार सदस्य रहने गरी ‘पार्टी एकता संयोजन समिति’ गठन गरिएको नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले जानकारी दिए ।
पार्टी एकता संयोजन समितिमा वैद्य माओवादीको तर्फबाट वैद्यसहित, सीपी गजुरेल, रामबहादुर थापा ‘बादल’ र देव गुरुङ रहेका छन् भने नेकपा (एकीकृत)को तर्फबाट परि थापा, रामसिंह श्रीस, सीताराम तामाङ र केबी गुरुङ् रहेको छन् ।
संयोजन समितिले सहमत हुन बाँकी विषयमा समान धारणा बनाउने, पार्टीको साझा सैद्धान्तिक राजनीतिक प्रस्तावहरु तयार गर्ने तथा पार्टी एकताका लागि आवश्यक संगठनात्मक एकीकरणको तयारी गर्ने नेकपा-माओवादीका अध्यक्ष वैद्य र एकीकृतका परि थापाद्वारा विहीबार जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ ।
नयाँ पार्टी गठन गरेको दुई वर्षमै पार्टी विभाजित भएपछि वैद्य माओवादीले एकीकृत माओवादीसँग एकता गर्न पनि पहल जारी राखेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु