वीर अस्पतालद्वारा आफ्नै फार्मेसी सन्चालन

२०७३ माघ ६ गते, बिहीबार

काठमाडौं, ६ माघ । नेपालको सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले बुधबारदेखि आफ्नै फार्मेसी सेवा सन्चालनमा ल्याएको छ । अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले मन्त्रालयले दिएको रु ३० लाखबाट फार्मेसी सुरु गरिएको बताए । उनले भने–‘फार्मेसीबाट बिरामीले बजार मूल्यभन्दा सस्तोमा गुणस्तरीय औषधि खरिद गर्न सक्नेछन् । अहिले उपलब्ध नभएका औषधि बिस्तारै थप गर्दै जानेछौं ।’ सरकारी अस्पतालले आफैंले फार्मेसी सन्चालन गर्नुपर्ने सरकारले केही वर्षअघि नै निर्णय गरेको थियो । तर, धेरै अस्पतालले विभिन्न कारण देखाउँदै फार्मेसी सन्चालनमा ल्याएका थिएनन् । स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा अनिवार्यरूपमा अस्पताल आफैंले फार्मेसी सन्चालनका लागि छुट्टै बजेट विनियोजन गरेर पठाएपछि सरकार मातहतका अस्पताललाई अनिवार्यरूपमा फार्मेसी सन्चालन गर्नैपर्ने बाध्यता सिर्जना भएको छ ।
यसअघि, सर्वोच्च अदालतले पनि सरकारी अस्पतालले अस्पताल परिसरमा आफ्नै फार्मेसी सन्चालनमा ल्याउन आदेश दिइसकेको छ । यसअघि, सरकारी अस्पतालभित्र निजी संस्थाले फार्मेसी सन्चालन गर्दा सेवाग्राही बढी पैसा तिरेर औषधि किन्न बाध्य भएका थिए । निजी फार्मेसीले सरकारी अस्पतालभित्र औषधि पसल राख्न अस्पतालका पदाधिकारीलाई कमिसन खुवाउने चलन थियो ।
सर्वोच्च अदालतले आदेश दिएपनि निजी फार्मेसीको दबाबमा सरकारी अस्पतालले आफ्नो छुट्टै फार्मेसी सन्चालन गर्न सकेको थिएन । बिरामीले एउटै औषधिलाई फार्मेसीपिच्छे फरक–फरक मूल्य तिर्नुपर्ने बाध्यता थियो । अस्पताल आफैंले फार्मेसी सन्चालन गर्दा निजी फार्मेसीले औषधिलगायत अन्य सामग्रीमा लिएको मूल्यभन्दा २० देखि ४० प्रतिशतसम्म छुट हुनेछ । मन्त्रालयले केन्द्रीय अस्पतालमा रु ३० लाख, क्षेत्रीय अस्पताल रु २५, उपक्षेत्रीय अस्पताल रु २० र अञ्चल अस्पतालमा रु १५ लाख रुपैयाँ बीउ पुँजीकारूपमा पठाइसकेको छ ।
यसैगरी, जिल्ला अस्पताललाई कुल रु तीन करोड ४४ लाख फार्मेसी सन्चालनका लागि निकासा भइसकेको मन्त्रालयले जनाएको छ । – रासस

प्रतिक्रियाहरु