विषादी परीक्षण देशैभरि

२०७१ भाद्र ३ गते, मंगलवार


काठमाडौ, ३ भदौ । बाली संरक्षण निर्देशनालयलेतरकारीमा विषादी परीक्षणको काम देशव्यापी बनाउने तयारी गरेको छ ।निर्देशनालयले अहिले काठमाडौको कालिमाटीमा मात्र भैरहेको परीक्षणलाई विस्तार गर्ने तयारी गरेको हो ।त्यसका लागि कृषि विकास मन्त्रालयमा प्रस्ताव पेश गरिएको निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार विराटनगर, पोखरा, नेपालगंज, बुटवल लगायत ठाउँमा प्रयोगशाला राख्नको लागि मन्त्रालयमा प्रस्ताव पेश गरिएको छ ।
काठमाडौमा कडाइका साथ परीक्षण थालेपछि विषादी हालेका तरकारी अरु ठाउँमा निकासी भैरहेको उपभोक्ताको गुनासो आएपछि परीक्षणलाई विस्तार गर्न लागिएको शर्माले बताउनुभयो ।
मन्त्रालयबाट प्रस्ताव पारित भएपछि पनि परीक्षणका लागि मेसिनको व्यवस्था गर्नुपर्ने भएकाले केही समय लाग्ने तर यहि आर्थिक वर्ष भित्रै सुरु गर्ने तयारी भएको कार्यक्रम निर्देशक शर्माको भनाई छ ।
यसैबीच परीक्षण हुन थालेपछि कालिमाटीमा भित्रिएको तरकारीमा गएको साउन महिनामा मानव स्वास्थ्यमा असर पुर्‍याउने खालका विषादी नपाइएको बाली संरक्षण अधिकृतहरुले बताएका छन् ।
यस्तै रासायनिक विषादीको प्रयोग र यसले पुर्‍याउने क्षतिबारे जिल्ला कृषि विकास कार्यालयहरुले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् । कृषि मन्त्रालयको सहयोगमा अरु गैरसरकारी संस्थाहरुले पनि विषादी सम्बन्धी जानकारी दिन चेतनामूलक कार्यक्रम गरिरहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु