विषादी जाँचका कारण तरकारीको मूल्य घट्दै

२०७१ श्रावण ६ गते, मंगलवार


काठमाडौ, ६ साउन । विषादी हालेका तरकारीको जाँच हुन थालेपछि काठमाडौमा हरियो तरकारीको भाउ धेरै घटेको छ ।अघिल्लो हप्ताको तुलनामा यो हप्ता ९० प्रतिशत भाउ घटेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।अघिल्लो हप्ता किलोमा २० देखि २२ रुपैयाँ थोक मूल्यमा कारोबार भएको मुला यो हप्ता २ देखि ३ रुपैयाँ थोक मूल्यमा झरेको थोक बिक्रेता भगवानचन्द्र उप्रेतीले बताउनुभयो । उहाँका अनुसार सस्तो भएपनि कारोबार नभएपछि सोमबार व्यापारीले डेढसय मेट्रिक टन मुला फालेका छन् ।
यस्तै बजारमा मंगलबार बन्दा र घिरौला किलोको १५ देखि १६ रुपैयाँ, हरियो धनियाँ १५ देखि २० रुपैयाँ, माच्छे खुर्सानी ३० रुपैयाँ, हरियो करेला २५, हाइब्रिट काँक्रो २२ रुपैयाँ बोडी २५ रुपैयाँ र गोलभेडा २० देखि २२ रुपैयाँ थोक मूल्यमा कारोबार भैरहेको छ ।
यसैबीच कालिमाटीमा तरकारीको जाँच हुन थालेपछि किसानले बाहिरी जिल्लाहरुमा गोलभेडा निर्यात गर्न थालेकाले बजारमा मंगलबार ७५ प्रतिशत कम गोलभेडा भित्रिएको व्यवसायीले बताएका छन् । विषादी जाँच हुनु स्वागतयोग्य कदम भएपनि सरल रुपमा उपभोक्तामा सूचना सम्प्रेषण नहुँदा आफुहरु मारमा परेको किसानको गुनासो छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु