विश्व युद्ध लडेका योद्धाले लिए प्रतिलिपि नागरिकता

२०७३ बैशाख २१ गते, मंगलवार

काठमाडौं, २१ वैशाख । दोस्रो विश्व युद्ध लडेका वीर योद्धा चन्द्रसिंह गुरुङले नवलपरासीबाट प्रतिलिपि नागरिकता लिनुभएको छ । नवलपरासीको नर्सही–४ घर भएका गुरुङले १०९ वर्षको उमेरमा प्रतिलिपि नागरिकता लिनुभएको हो । गुरुङ नवलपरासी घर भएका दोस्रो विश्व युद्धको वीर योद्धा हुनुहुन्छ । दोस्रो विश्व युद्धका जीवित योद्धा चन्द्रसिंह गुरुङले जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि नागरिकता प्रमाणपत्र प्राप्त गर्नुभएको थियो ।
एक सय ९ वर्ष पुगेपनि त्यतिबेला नागरिकता बनाउँदा उमेर घटाएकाले नागरिकतामा भने १०२ वर्ष कायम गरिएको छ । विश्व युद्धमा इराकसम्म पुगेका चन्द्रसिंह गुरुङले आफूलाई स्याहारसुसार गर्ने बुहारीलाई अंश दिन तथा अन्य कामका लागि प्रतिलिपि नागरिकता लिनुपरेको बताउनुभयो ।
एक शताब्दी बाँच्नु भनेको चानचुने कुरा होइन, सरदर नेपालीको आयु ६०÷७० वर्ष हुन्छ । विश्व युद्धमा मृत्युलाई जितेका गुरुङले एक शताब्दी बाँच्न पाउनु भगवान्को दया भएको प्रतिक्रिया दिनुभयो । यो उमेरमा पनि उहाँको जोश र तागत देखेर प्रशासनमा भेला भएका मानिस अचम्भित भएका थिए । गुरुङ विश्व युद्ध लड्दा इराकसम्म जानुभएको थियो । उहाँसँग ब्रिटिस आर्मी, भारतीय प्रहरी, रेल्बे सेवामासमेत काम गरेको अनुभव छ । आफूले धेरै योगदान दिएर नेपाललाई चिनाउन सफल भएपनि राज्यले भने सम्मान दिन नसकेको उहाँको गुनासो थियो ।- पुरुषोत्तम सुवेदी/रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार