विश्वकै सबैभन्दा अग्लो मूर्ति अनावरण

२०७५ कार्तिक १४ गते, बुधबार

काठमाडौं, १४ कात्तिक । भारतको गुजरात राज्यमा बुधबार विश्वकै सबैभन्दा अग्लो मूर्ति अनावरण गरिएको छ । १८२ मिटर अग्लो तामाको मूर्ति भारतीय स्वतन्त्रता सेनानी सरदार वल्लभ भाइ पटेलको हो । चार वर्ष लगाएर निर्माण गरिएको उक्त मूर्ति निर्माणमा ४७ अर्ब ८४ करोड नेपाली रुपैयाँ खर्च भएको बताइएको छ । यो मूर्ति न्यूयोर्कको ‘स्ट्याच्यू अफ लिबर्टी’भन्दा दुई गुणा बढी अग्लो छ । यसअघि चीनको १२८ मिटर अग्लो ‘स्प्रिङ टेम्पल बुद्ध’ विश्वको सबैभन्दा अग्लो मूर्ति मानिन्थ्यो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मूर्तिलाई ‘एकताको मूर्ति’को संज्ञा दिँदै यसले पर्यटक आकर्षित गर्ने विश्वास व्यक्त गरे । तर, केही स्थानीयले भने मूर्ति निर्माणले सार्वजनिक खर्चको दुरुपयोग भएको भन्दै विरोध गरेका छन् । विरोधलाई ध्यानमा राखी अनावरण कार्यक्रममा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो । मोदीले आफू गुजरातको मुख्यमन्त्री हुँदा मूर्ति निर्माणको स्वीकृति दिएका थिए । -एजेन्सी

प्रतिक्रियाहरु