विश्वकै ठूलो कार्बन स्टोरको रुपमा रहेको अमेजन रेनफरेष्टमा आगलागी

२०७६ भाद्र ६ गते, शुक्रबार

काठमाडौं, ६ भदौ । ब्राजिलको अमेजन जंगलमा भईरहेको आगलागीप्रति विश्व समुदायले चिन्ता प्रकट गरेको छ । विश्वकै ठूलो कार्बन स्टोरको रुपमा रहेको अमेजन रेनफरेष्टमा आगलागी हुँदा ग्लोबल वार्मिङको समस्या बढ्ने उनीहरुको चिन्ता छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले ब्राजिलको अमेजन रेनफरेस्टमा भइरहेको आगलागीले अन्तर्राष्ट्रिय संकट निम्त्याएको बताएका छन् । आगलागीप्रति लक्षिण गर्दै उनले ‘मेरो घर जलिरहेको छ’ भन्दै ट्वीट गरेपछि यो विषय अन्तर्राष्ट्रियकरण भएको छ । साथै उनले आसन्न जि–सेभेनको सम्मेलनमा यो संकटलाई एजेण्डा बनाउन प्रस्ताव गरेका छन् ।
म्याक्रोंको यो प्रस्तावप्रति ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो भने सहमत छैनन् । ब्राजिलको उपस्थिति नरहने सम्मेलनमा यो विषय उठाउनु भनेको विश्वका शक्ति राष्ट्रहरुको औपनिवेशिक सोच भएको उनको भनाइ छ ।
तीव्र गतिमा फँडानी भइरहेको अमेजन रेनफरेस्टमा यो वर्ष डढेलो लगाउने क्रम अधिक भएको पछिल्लो तथ्यांकले देखाएको छ । भू–उपग्रहरुबाट प्राप्त तस्वीर र तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष अमेजन जंगलमा डढेलोको मात्रा ८५ प्रतिशतले बढेको छ । बोल्सोनारोले आफू सत्तामा आएदेखि किसान तथा काष्ठ व्यवसायीलाई अमेजन वन फँडानी गर्न प्रेरित गरेको संरक्षणवादीको आरोप छ ।

प्रतिक्रियाहरु