विश्वका जेठा व्यक्तिको ११२ वर्षको उमेरमा निधन

२०७२ असार २२ गते, मंगलवार

काठमाडौं, २१ असार । विश्वका सबैभन्दा जेठा व्यक्तिको निधन भएको छ । जापानी नागरिक साकारी मोमोयीको ११२ वर्षको उमेरमा निधन भएको जापानी अधिकारीहरुले जनाएका छन् ।
जापानी अधिकारीहरुले यही आइतबार उहाँको निधन भएको बताएका छन् । जापानको साइतामा नगरका अधिकारीहरुले उहाँको निधन भएको औपचारिक जानकारी मङ्गलबार दिएका हुन् ।
उनीहरुकाअनुसार साकारी गएका कयौंँ वर्षदेखि साइतामामा नै बस्दै आउनुभएको थियो । तर उहाँको निधन भने टोकियोको एक नर्सिङ होममा भएको थियो ।
सञ्चारमाध्यमहरुले उहाँको जन्म राइट दाजुभाईले हवाईजहाजको आविश्कार गरेर सफलताका साथ उडाएको अर्काे महिना भएको भनी समाचार प्रकाशन एवम् प्रशारण गरेका राजधानी टोकियोबाट प्राप्त समाचारमा जनाइएको छ ।
साइतामाका एकजना अधिकारीले भने– हामीले उहाँको परिवारिक स्रोतबाट थाहा पायौँ कि उहाँको निधन गत आइतबार भएको छ ।
स्वास्थ्य अधिकारीहरुले गएको कम्तीमा पनि दुई हप्ताअघिदेखि उहाँ विरामी पर्नुभएको थियो र पछिल्लो हप्ता उहाँको स्वास्थ्यमा ह्रास आएको बताएका छन् ।
उहाँका दुवै मिर्गाैलाले काम गर्न छोडेपछि गत आइतबार निधन भएको अधिकारीहरुले जनाएका छन् ।
उहाँले गतवर्ष मात्र अथवा उहाँ आफू १११ वर्षको भएपछि विश्वको सबैभन्दा जेठो व्यक्तिको रुपमा मान्यता पाउनुभएको थियो ।
सन् १९०३ को फेब्रुअरी ५ मा जन्मिनुभएका उहाँलाई गिनिज वल्र्ड रेकर्डले गतवर्ष विश्वको सबैभन्दा पाको व्यक्तिको मान्यता दिएको हो ।
उहाँ एक विद्यालयका पूर्व प्रधानाध्यापक हुनुहुन्थ्यो । उहाँलाई गिनिज बुक्सले सो मान्यता दिनका लागि आयोजना गरेको उक्त समारोहमा बोल्दै उहाँले गतवर्ष आफु थप दुई वर्ष बाँच्ने बताउनुभएको थियो ।
सेतो कमिज, कालो कोट र पाइन्ट अनि चाँदी रङ्गको टाइमा सजिनुभएका उहाँले भन्नुभएको थियो– म अहिले नै माथि जाने सोचमा छैन र मलाई लाग्छ म अरु दुई वर्ष त बाँच्ने नै छु ।
जापान विश्वमा लगभग लामो उमेर नागरिक बाँच्ने देशमा पर्दछ । जापानको पूरा जनसङ्ख्याको करिब एक चौथाई जनसङ्ख्या ६५ वर्षभन्दा माथिका रहेका छन् ।

प्रतिक्रियाहरु