विश्वका उत्कृष्ट भ्रमणयोग्य सहरमध्ये काठमाडौं पाँचौं नम्बरमा

२०७५ कार्तिक ८ गते, बिहीबार

काठमाडौं , ८ कार्तिक । लोन्ली प्लानेटले सन् २०१९ का लागि तय गरेको उत्कृष्ट १० गन्तव्यको सूचीमा काठमाडौं पाँचौं नम्बरमा परेको छ । संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी ‘लोन्ली प्लानेट’ले काठमाडौंलाई विश्वका उत्कृष्ट १० गन्तव्यको सूची तयार पारेको हो । आगामी एक वर्षका लागि घुम्नैपर्ने संसारका उत्कृष्ट १० गन्तव्यको सूचीमा काठमाडौं पाँचौं स्थानमा परेको छ ।
लोन्ली प्लानेटले सन् २०१९ का लागि तय गरेको उत्कृष्ट १० गन्तव्यको सूचीमा परेका सहरको विवरण यस्तो छः
१. डेनमार्कको कापेनहेगन
२. चीनको शेनचेन
३. सर्भियाको नोभिसाद
४. अमेरिकाको मियामी
५. नेपालको काठमाडौं
६. मेक्सिकोको मेक्सिको सिटी
७. सेनेगलको डाकार
८. अमेरिकाको वासिङ्टन
९. क्रोयसियाको जदार
१०. मोरक्कोको मेक्नेस
लोन्ली प्लानेटले घुमेका लेखक, ट्राभल विज्ञ र लाखौं पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझावका आधारमा यो सूची तयार पारेको उल्लेख गरेको छ । विश्वका उत्कृष्ट पर्यटकीय गन्व्यको सूचीको नेपालको राजधानी पर्नुलाई नेपालका पर्यटन व्यवसायीले महत्वपूर्ण उपलब्धी मानेका छन् । र पर्यटन व्यवसायी खुसी भएका छन् । यसले नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
लोल्ली प्लानेटको प्रचार सामग्री हेरेरै विश्वका देशहरु घुम्ने पर्यटकको सङ्ख्या धेरै छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएका काठमाडौंका धार्मिक, साँस्कृतिक सम्पदा एवम् ऐतिहासिक धरोहरको पुनर्निर्माण जारी भएकै बेला विश्वका उत्कृष्ट गन्तव्यको सूचीका काठमाडौं पर्नु सुखद कुरा हो । लोल्ली प्लानेटले काठमाडौंलाई उत्कृष्ट पर्यटकीय स्थलको सूचीका राख्नुको कारण पनि खुलाएको छ । भूकम्पका कारण क्षति भएका सम्पदाको पुनर्निर्माण करिब सम्पन्न भएको कुरालाई उक्त कम्पनीले महत्व दिएको छ ।
हिमाल प्रवेश गर्ने ढोकाको रुपमा चित्रण गर्दै लोन्ली प्लानेटले ऐतिहासिक क्षेत्रमा चारपाङ्ग्रे गाडी प्रवेश निषेध गरेको, हर्न निषेध भएको र मध्यकालिन वास्तुकलालले सजिएको रात्रिजीवन तथा खानाका कारण काठमाडौंलाई घुम्नयोग्य सहरको सूचीमा राखेको जनाएको छ । त्यस्तै, प्रदूषण र ट्राफिक जामका कारण अझै केही समस्या रहेको कुरालाई पनि वेबसाइटमा राखिएको छ ।
लोन्ली प्लानेटले २०७३ सालमा पनि ‘बेस्ट भ्यालु’ गन्तव्य सूचीको पहिलो नम्बरमा नेपाललाई राखेको थियो । त्यतिबेला भूकम्पका कारण ऐतिहासिक मठमन्दिर, प्रख्यात पदयात्रा मार्गलगायत ध्वस्त भए पनि नेपालसँग ती सम्पदा र पूर्वाधार मर्मत गर्ने क्षमता भएको उल्लेख गर्दै नेपाललाई उत्कृष्ट गन्तव्य मानेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार