विश्वकप फुटबलको उदघाटन हुदै

२०७५ जेष्ठ ३१ गते, बिहीबार

काठमाडौं, ३१ जेठ । नेपाली समयअनुसार आज वेलुकी सवा ८ बजेवाट विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करण रुसमा सुरु हुँदैछ । रुसी राजधानी मस्कोस्थित लुजिन्स्की रंगशालामा विश्वकप फुटबल प्रतियोगिताको भव्य उद्घाटन समारोह आयोजना हुनेछ ।
उक्त समारोहलाई रुसी राष्ट्रपचि भ्लादिमिर पुटिन, अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जियानी ईन्फान्टीनो लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
आधा घण्टासम्म चल्ने उद्घाटन समारोहमा विश्व फुटबलका हस्तीहरू डिएगो म्यारोडाना, जिको लगायतको उपस्थिति रहनेछ । उद्घाटन समारोहमा बेलायती गायक रोबी विलियम्स, रुसी गायिका सोप्रानोलगायतले प्रस्तुती दिँदा ५ सयभन्दा बढी डान्सर र जिमन्यास्टहरूले आफ्नो कला देखाउनेछन् । रुसमा विश्वकप सुरु हुनै लाग्दा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । विश्वभर हुल्याहा समर्थकको छबी बनाएका रुसी समर्थकहरुलाई नियन्त्रण गर्नु रुसी आयोजकको मुख्य चुनौती हुनेछ ।
त्यसबाहेक पछिल्लो समय युरोपका भिडभाडयुक्त ठाँउलाई निशाना बनाउदै आएका आतंकवादी संभावित आक्रमण निस्तेज पार्नु रुसी सुरक्षा संयन्त्रको अर्को मुख्य चुनौती हुनेछ । उद्घाटन समारोहमा ३२ वटै टिमका खेलाडी उपस्थित हुने बताइएको छ । जहाँ ब्राजिलबाट दुईपटक विश्वकपको ट्रफी उचालेका रोनाल्डो पनि देखिनेछन् । उद्घाटन समारोहमा लुजिन्स्की रंगशालामा ८० हजार दर्शक उपस्थित हुने आयोजको दाबी छ । रंगाशालाको दर्शक क्षमता ८१ हजारको रहेको छ । यही रंगशालामा जुलाई १५ तारिखमा विश्वपको फाइनल खेल हुनेछ ।
रुसको च्यानल वानले उद्घाटन समारोहको व्यवस्थापन तथा उत्पादन गर्नेछ । जसका निर्देशक फेलिक्स मिखाइलो हुन् । उनले नै २०१८ को ‘फिफा विश्वकप जर्नी’ को कार्यक्रम निर्देशन गरेका हुन् । जुन २०१५ को प्रारम्भिक ‘ड्र’ बाट सुरु भएको रुसी विश्वकपको यात्रा १५ जुलाईमा सकिनेछ । विश्वकपका विभिन्न ६४ खेल रुसमा ११ सहरका १२ रंगशालामा हुनेछ । उद्घाटन खेलमा आज आयोजक रुसले साउदी अरेबियासँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार आज वेलुकी पौने ९ वजे मस्कोस्थित लजिन्स्की रंगशालामा हुनेछ । रुसले पछिल्ला ७ खेलमा जित निकाल्न सकेको छैन । उसले अन्तिम पटक गत अक्टोबरमा दक्षिण कोरियालाई हराएको थियो ।
यस्तै साउदी अरेबिया पनि पछिल्ला ३ खेलमा लगातार पराजित भएको थियो । साउदीलाई पछिल्ला ३ मैत्रीपूर्ण खेलमा इटाली, पेरु र विश्वकपको साविक विजेता जर्मनीले पराजित गरेका थिए । रुसले एसियासी भूमिमा भएको २००२ को विश्वकप पछि खेलेका विश्वकपका सवै खेल गुमाएको छ । साउदीले सन् १९९४ मा अमेरिकालाई हराए यता विश्वकपमा जित हात पार्न सकेको छैन । रुस र साउदी अरेबिया विश्वकपमा पहिलो पटक भिड्न लागेका हुन् । विश्वकप फुटबलको इतिहासमा उद्घाटन खेलमा अहिलेसम्म कुनै पनि आयोजक टिम पराजित भएको छैन । २१ संस्करणका २२ आयोजक टिम मध्ये १५ टिमले पहिलो खेलमा जित हात पारेका छन् भने ६ टिम बराबरीमा रोकिएका छन् ।

प्रतिक्रियाहरु