विवाह समारोहमा हवाई आक्रमण, ४० जना हताहत

२०७५ बैशाख १० गते, सोमबार

काठमाडौं, १० वैशाख । यमनमा साउदी अरब नेतृत्वको हवाई सेनाले वैवाहिक समारोहमा आक्रमण गर्दा कम्तीमा ४० जना हताहत भएका छन् । यमनको उत्तरपश्चिमी हज्जाह प्रान्तमा आइतबार अबेर राति आक्रमण भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
‘अहिले घटनामा परी मृत्यु हुने र घाइते हुनेहरुको यकिन विवरण आइसकेको छैन्, प्रारम्भिक विवरणअनुसार कम्तीमा ४० जना हताहत भएका छन्’–एकजना उच्च स्वास्थ्य अधिकारी मोहम्मद अल अस्वालले सिन्ह्वासँग टेलिफोनमार्फत् भने । उनले थपे–‘तीमध्ये केहीको मृत्यु र केही घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।’ एकजना सुरक्षा अधिकारीकाअनुसार लडाकू विमानबाट वैवाहिक समारोहमा दुईओटा बम खसालिएको थियो । घटना बानी कास जिल्लाको अल्राका गाउँमा भएको हो । बम विस्फोटमा परी वैवाहिक समारोहनजिकै रहेका घर, सवारी–साधनलगायत नस्ट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
यमनमा गत तीन वर्षदेखि हुथी विद्रोही समूह र साउदी अरब नेतृत्वको गठबन्धन सेनाकाबीचमा भिडन्त हुँदै आएको छ । गठबन्धन सेनाले गत शुक्रबार पनि दक्षिणपश्चिमी ताइज प्रान्तमा हवाई आक्रमण गरेको थियो । घटनामा परी कम्तीमा १७ जना मारिएका थिए । चर्चित स्थानीय बजारबाट घर फर्कंदै गरेका यात्री चढेको सार्वजनिक दुईओटा सवारी–साधनमा आक्रमण हुँदा उनीहरुको मृत्यु भएको अधिकारीले जनाएका छन् । यमनमा अहिले चलिरहेको द्वन्द्वका कारण अहिलेसम्म झन्डै १० हजार यमनी नागरिक मारिएका छन् भने लाखौं विस्थापित भएका छन् । मानवीय संकटको दृष्टिकोणले अहिले यमन विश्वकै द्वन्द्वग्रस्त क्षेत्रमा देशहरुको सूचीमा रहेको छ ।- रासस/सिन्ह्वा

प्रतिक्रियाहरु