विवाह पञ्चमी मनाइँदै

२०७१ मंसिर ११ गते, बिहीबार


काठमाडौं । प्राचीन मिथिलाको राजधानी ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरमा जारी विवाहपञ्चमी महोत्सवअन्तर्गत आज भगवान राम र माता सीताको स्वयंबर गरिने भएको छ ।दिउँसो जानकी मन्दिरको प्रांगनबाट गाजाबाजाका साथ निस्किने झाँकीसहितको टोली ऐतिहासिक रंगभुमि मैदान बाह्रविघा पुगेर राम र सीताको स्वयंवर हुनेछ ।
आज राम मन्दिरबाट रामजीको डोला र जानकी मन्दिरबाट किशोरीजीको डोलालाई बाह्रविघा मैदानमा लगेर स्वयवंर गर्ने परम्परा रहेको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले जानकारी दिनुभयो ।
विवाह पंचमी महोत्सवलाई लिएर जनकपुरको विभिन्न मठ मन्दिरहरुलाई दुलही झै सजाइएको छ भने साँझ पख हरेक मठ मन्दिरमा वैवाहिक गीतमा नाचगान हुने गरेको छ । विवाह पंचमीका लागि अहिले जनकपुरमा श्रद्धालुहरुको आउने क्रम बढेको छ ।
महोत्सवलाई लिएर नगरको मुख्य आकर्षणको केन्द्र जानकी मन्दिरलाई बेहुली झै सिंगारिएको छ । आज हुने रामजानकी विवाह महोत्सवमा सहभागी हुन लाखौंको संख्यामा नेपाल तथा भारतबाट तिर्थालुहरु जनकपुर आउने क्रम जारी रहेको छ ।
मिथिला परम्परा अनुसार मनाइने रामजानकी विवाह महोत्सवको अवलोकन गर्न प्रत्येक वर्ष लाखौको संख्यामा तिर्थालुहरु जनकपुर आउने गरेका छन् । यस पटक अयोध्याबाट विशेष जन्तीहरु सहभागि भइरहेकोले विवाह महोत्सवलाई झनै महत्व दिइएको छ ।
भारतको अयोध्याबाट पछिल्लो तीनवर्षदेखि हरेक पांच वर्षमा साधु संतको रुपमा विशेष जन्ती आउने गरेका छन् । महोत्सवलाई लिएर जनकपुरको सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार