विवादित जग्गा माओवादीको कब्जामा

२०७३ आश्विन ९ गते, आईतवार

काठमाडौँ, ९ असोज । भक्तपुरको कटुन्जे ३ स्थित करुणा थेच्मी र देवलाल थेच्मीसँग विवादमा रहेको तीन आना दुई पैसा दुई दाम क्षेत्रफलको उक्त जग्गा माओवादीले कब्जामा लिएको छ । भक्तपुरको कटुन्जे ३ थापाटोल सिरुफाँटमा रहेको विमला घिमिरेको विवादित सो जग्गामा माओवादीको झन्डा गाडि कब्जा गरेको हो । करुणा थेच्मी र देवलाल थेच्मीसँग विवादमा रहेको तीन आना दुई पैसा दुई दाम क्षेत्रफलको उक्त जग्गासम्बन्धी मुद्दा नेकपा (माओवादी) को केन्द्रीय न्याय विभागमा परेको थियो । करुणा–देवलाल समूहले पाँच लाखको घरायसी लेनदेनमा जबर्जस्ती धाकधम्की दिएर विमलालाई पाँच गुना बढी रकम २२ लाखको लेनदेनको कागज गराएको र ब्याजसमेत गरी ३२ लाख रकम दाबी गर्दै आएको थियो । कित्ता नं १७१८ को उक्त जमिन जबर्जस्ती दृष्टिबन्धक गराइएको, अवाञ्छित गतिविधि गरी सत्तालाई प्रभावित गरेर अन्याय गरेको दाबीसहित केन्द्रीय न्याय विभागमा मुद्दा चलिरहेको र विभागले छलफलका लागि दुवै पक्षलाई झिकाएको अवस्थामा करुणा पक्ष छलफलमा नआएकाले उक्त जमिनमा पार्टीको झन्डा गाडिएको स्रोतले जनाएको छ । नेकपा (माओवादी) का केन्द्रीय सदस्यसमेत रहेका भक्तपुर जिल्ला सेक्रेटरी-इन्चार्ज आजादले विमला–करुणा लेनदेन मुद्दा पार्टीले अध्ययन गरिरहेको पुष्टि गरे । केन्द्रीय न्याय विभागका प्रमुख आदर्शले प्रारम्भिक अध्ययनमा उक्त लेनदेन प्रक्रियामा विमलामाथि जालझेल, अन्याय र षड्यन्त्र भएको देखिएको बताए । उनले मुद्दामा छानबिन जारी रहेको पनि बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु