विराटनगरस्थित भारतीय शिविर तत्काल हटाउन माग

२०७२ कार्तिक १९ गते, बिहीबार

काठमाडौँ । नेकपा माओवादीले भारतीय राजदूतावासको विराटनगरस्थित शिविर कार्यालय अविलम्ब हटाउन माग गरेको छ । माओवादीले शिविर नेपाल विरोधी गतिविधि सञ्चालन गर्ने अखडा भएको भन्दै अविलम्ब हटाउन जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई गतबुधबार ज्ञापनपत्र पठाएर तुरुन्त हटाउन माग गरेको छ । माओवादीले कांग्रेस, एमाले, एमाओवादी, उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ मोरङलाई समेत बोधार्थमा राखी ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र मा २०६५ सालमा भीषण वर्षा भई कोशीबाँधको ढोका नखोलिँदा बाँध फुटेर नेपालका सयौं गाउँ बाढीको चपटेमा परेको र कोशी सम्झौताअनुसार मर्मत तथा बाढी नियन्त्रणको जिम्मा भारतको भएअनुसार विराटनगरमा खडा शिविर सरकारले हटाउन आग्रह गर्दासमेत नहटाउनु भारतको हेपाहा प्रवृत्ति भएको उल्लेख छ । माओवादीले ‘भारतले अटेरी गर्दै अझ स्थायीरुपमा बस्ने र त्यसलाई नेपाल गतिविधिको अखडा बनाउने षड्यन्त्र गरिएकोले यो हेपाहा प्रवृत्तिको अन्त्य हुनुपर्ने’ भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । शिविर राख्नुको प्रयोजन पूरा भइसक्दासमेत नहटाउनुले त्यहीँबाट नेपाल विरोधी गैरकुटनीतिक हर्कत भइरहेको ज्ञापन पत्रमा जनाइएको छ ।

प्रतिक्रियाहरु