विमान दुर्घटनामा १ सय ५० को मृत्यु

२०७१ चैत्र ११ गते, बुधबार

काठमाडौं, ११ चैत । जर्मन वायुसेवा कम्पनी लुफ्थान्साको वजेट एयरलाईन्स जर्मनविङ्ग्सको एउटा विमान फ्रान्समा दुर्घटना हुँदा १ सय ५० जनाको निधन भएको छ । स्पेनको बार्सीलोनाबाट जर्मनीको डुसलडर्फका लागि उडेको एयरबस ‘ए ३२०’ विमान फ्रान्सको दक्षिणी पर्वत श्रृंखलाको दुर्गम क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।दुर्घटनास्थलबाट भग्नावशेषहरु फेला पारिएको छ भने कोही पनि जिवित नरहेको बताईएको छ । विमानमा चालक दलका ६ सदस्य तथा १ सय ४४ जना यात्रु थिए । दुर्घटनास्थलबाट विमानको ब्ल्याक बक्स फेला पारिएको छ ।
विमान दुर्घटनाबारे छानविन सुरु भएपनि अहिलेसम्म दुर्घटनाको कुनै कारण पत्ता लाग्न सकेको छैन । विमान दुर्घटनामा पर्नुअघि ३८ हजार फिटको उचाईबाट झण्डै ८ मिनेटसम्म जमीनतर्फ झरेपनि कन्ट्रोल टावरसँग भने कुनै खाले आपतकालिन अवस्थाको सम्पर्क नगरेको बताइएको छ ।
विमानमा ६७ जना जर्मन नागरिक तथा ४५ जना स्पेनिस नागरिक सवार थिए । यसबाहेक अष्ट्रेलिया, टर्की, डेनमार्क, बेलायत, नेदरल्याण्ड्स र बेल्जीयमका पनि केही यात्रु रहेको बताइएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरुमा १६ जना जर्मन विद्यार्थी र दुई शिक्षक थिए, जो स्पेनमा एउटा शैक्षिक एवं साँस्कृतिक आदान–प्रदान कार्यक्रममा सहभागी भएर जर्मनी फर्किदैं थिए ।

प्रतिक्रियाहरु