विमानस्थल सुरक्षाको जिम्मा कमाण्डो फोर्सलाई

२०७३ श्रावण १३ गते, बिहीबार

काठमाडौं, १३ साउन । विश्वमा आतंकवादी घटना बढ्दै गएपछि नेपालको विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ । दुई सातायता विमानस्थल सुरक्षामा कमान्डो तालिम गरेका प्रहरीको विशेष कार्यदल (एसटिएफ)बाट प्रहरी खटाइएको छ ।
सुरक्षा चुनौती मूल्यांकन गरी कार्यदलबाट ३५ जनाको प्लाटुन विमानस्थलको सुरक्षामा खटाइएको हो । विमानस्थल सुरक्षालाई बलियो बनाउन विशेष कार्यदलबाट प्लाटुन झिकाइएको विमानस्थल प्रहरी प्रमुख डिआइजी गोविन्द निरौलाले बताए । गृह मन्त्रालयबाटै निर्णय गरेर विमानस्थलमा कमान्डो तालिम गरेका प्रहरीलाई खटाइएको हो । एसएलआर हतियार बोक्ने कार्यदलका प्रहरीलाई दुई किसिमको जिम्मेवारी दिइएको हो । एक टोलीले गोल्डेनगेटदेखि विमानस्थलको भित्री भागसम्म नियमित पेट्रोलिङ गरेको छ । अर्को टोली उडान समयमा प्रस्थान र आगमन कक्षको वरिपरि स्ट्यान्डबाई डिउटीमा खटिन्छन् । विमानस्थल प्रहरी दैनिक काममा बढी व्यस्त हुने भएकाले सुरक्षामा केन्द्रित हुन कार्यदलको प्लाटुन खटाइएको डिआइजी निरौलाले बताए ।
टर्कीको इस्तानबुलस्थित एयरपोर्ट र बंगलादेशमा आतंकवादी हमलापछि नेपालमा पनि सुरक्षा सतर्कता बढाइएको हो । खासगरी विश्वमा नै आतंक मच्चाउँदै आएको इस्लामिक स्टेट (आइएस)ले नेपाली भूमिलाई प्रयोग गर्न सक्ने सूचनाका आधारमा विमानस्थलको सुरक्षामा कडाइ गरिएको हो ।
आतंकवादी समूहले नेपाललाई निशाना नबनाए पनि नेपालमा रहेका विदेशीलाई निशाना बनाउन सक्ने सुरक्षा विश्लेषणका आधारमा सतर्कता बढाइएको हो । –नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु