विप्लव माओवादीको विप्लवी अभियान – खेम थपलिया

२०७२ श्रावण ४ गते, सोमबार

एकीकृत जनक्रान्तिलाई पार्टीको आधिकारिक कार्यदिशा बनाएको र युवा नेता नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टी माओवादी यतिखेर सबै राजनीतिक पार्टीहरूका निम्ति जिज्ञासा, कुतूहलता, आतङ्क र उत्साहजस्ता विषय बनेको छ । प्रचण्ड–बाबुरामको आत्मसमर्पण र कमरेड किरणको अकर्मण्यताबाट नेपालमा माओवादी सिद्धियो भन्नेहरूका लागि कमरेड विप्लवद्वारा नेतृत्व गरिएको माओवादीले सबैको ध्यान खिँचेको हो । अहिले नेपालमा विप्लवले नेतृत्व गर्नुभएको माओवादी पार्टीको पुनर्गठन नगरेको भए के हुन्थ्यो ? पुनर्गठनपछि के हुन्छ भन्ने बहसहरू भएका छन् । यी बहसहरू स्वाभाविक हुन् ।
तरबार जस्तो धारिलो कार्यदिशा र त्यसको सवल क्रियान्वयनको पहल गरिरहेको नेकपा माओवादीका सफलताहरू जति जति माथि उठ्दै जान्छ, उति उति वाधा व्यवधानहरू पनि सशक्त हुँदै जान्छन् भन्ने कुरा राम्ररी नै बुझेको छ । दलाल पुँजीपतिवर्ग र नेपाली जनताबीचको अन्तरविरोध तीब्र भएको यतिबेला २०५२ सालको भन्दा कैयौँगुणा क्रान्तिकारी अनुकूलताको वातावरण बनेको छ । क्रान्तिकारी शक्तिले कहिल्यै पनि नकारात्मक विरासतलाई छाता बनाउनुहुँदैन । माओवादी शक्ति तोपको मोहरीबाट निस्किएका धुवाँजस्ता हुन् । नेपाली जनताको अवस्था पनि त्यही हो । सबै किसिमले यो भन्ने बेला आएको छ कि नेपालमा रहेका तमाम किसिमका अन्तरविरोधको हल अब बन्दुकले मात्र गर्न सक्तछ । साम्राज्यवादी शक्तिहरूबीचको अन्तरविरोधले अब तेस्रो विश्वयुद्धलाई जन्माउँदैछ । माओवादी पार्टीभित्र गुट र उपगुट निराकरण गर्दै, तेरो र मेरोको अवस्थालाई अन्त्य गर्दै अगाडि बढ्न आवश्यक छ । निश्चय पनि पछिल्ला १० वर्षको सङ्क्रमणकालीन राजनीतिक परिस्थितिले जन्माएका कैयौँ नकारात्मक प्रवृत्तिहरू पार्टीमा रहिरहेका हुन सक्तछन् । तिनलाई पनि सही उपचार गर्दै जान आवश्यक छ । पार्टी भनेको न विपरीतहरूको एकत्व हो, न त होक्जाको जस्तो एकात्मक, यो त सर्वहारावर्गीय द्वन्द्वात्मक अन्तरसम्बन्ध हो भन्ने कुरालाई पनि पार्टीको आन्तरिक पङ्क्ति र बाहिर पनि प्रस्ट्याउन जरुरी छ ।
क्रािन्तकारीहरू क्रान्तिका लागि जुनसुकै कदम चाल्न पनि तयार रहनुपर्दछ । आजको माओवादीको सही आह्वान् यही नै हो । नेपालको अहिलेको संसद्वादी गोलचक्कर तोड्नु नै माओवादीको ठूलो सफलता हो । यो गोलचक्कार तोड्नु भनेको पार्टीले आफ्नो लक्ष्यमा अग्रगति हासिल गर्नु हो । पार्टीमा कमिटी प्रणाली तोडियो भने ठूला ठूला समस्याहरू आउने गरेको कुरा हामी सबैका सामु छर्लङ्ग छ । कम्युनिस्ट पार्टीमा कमिटी प्रणाली तोडियो भने त्यो पाटी नै सिद्धिने रहेछ भन्ने कुरा हामीले इतिहासमा देख्दै आएका हौँ । कतिपय सवालमा हामीले भोग्दै आएका पनि छौँ । त्यसैले कमिटी प्रणालीको सही पचिालन गर्नु आजको पार्टीको पहिलो काम हो । माओवादी जीवनका अस्तव्यस्त भएको सङ्गठनात्मक प्रणालीमा सानै भए पनि सफलता प्राप्त हुँदै गएको छ । माओवादीले राष्ट्रियता र जनजीविकाका क्षेत्रमा राम्रै प्रभाव जमाउँदै गएको छ । माओवादी आन्दोलनमा नेपालका युवाहरू दिन प्रतिदिन आकर्षित हुँदै गएका छन् । प्रचण्ड–बाबुरामहरू हँसियाबिना घाँस काट्न गएको जस्ता भएका छन् ।
नेकपा माओवादी पार्टीको पुनर्गठन भएको छोटै अवधिमा सफलतातिर लम्किएको छ । पहिलो त क्रान्तिकारी पार्टी निर्माणको चरणतिर सफलताका साथ अघि बढिरहेको छ । रणनीतिमा हेप्नुपर्छ, कार्यनीतिमा बुझ्नुपर्छ भन्ने माओको सुविख्यात भनाइलाई माओवादीले राम्ररी आत्मसात् गरेको देखिन्छ । जिल्ला कमिटीहरू आधारभूत कमिटी हुन् । त्यसकारण यो कमिटी निकै चुस्तदुरुस्त हुन आवश्यक छ । सायद मङ्सिरमा यो पार्टी नबनाएको भए माओवादीहरूको हालत आज निकै बेहाल भइसक्ने थियो । जनयुद्धका नायकहरू काङ्ग्रेस–एमालेसित मिल्न जानु माओवादीका लागि ठूलो चुनौती हो । अहिलेको संसदीय व्यवस्था जनयुद्धको घाँटी निमोठ्नेगरी अघि बढिरहेको छ । मध्यमवर्गको पहुँच, प्रभाव र आवश्यकता संसारभरको राजनीतिमा आउन लागेको परिस्थिति हो । माओवादी पार्टीको लागि मजदूर–किसान आधारभूत शक्ति हुन् भने मध्यमवर्ग आधार शक्ति हुन् । त्यसैले यी दुबै शक्तिलाई तालमेल मिलाएर अघि बढेर मात्र माओवादीले सफलता प्राप्त गर्न सक्नेछ । नेपालको राजनीतिमा यस्तो परिस्थिति पनि आउँदैछ कि प्रचण्ड–बाबुरामहरू संसदीय धारतिर जाने अनि सच्चा राष्ट्रवादी शक्तिहरू माओवादी धारतिर ध्रुबीकृत हुने बन्दै जाँदैछ ।
त्यसैले अहिलेको नेपाली राजनीतिको अवस्थालाई हेर्दा के भन्न सकिन्छ भने नेपालको वस्तुगत परिस्थिति माओवादीतिर उन्मुख छ । नेपाली राजनीतिको अन्तरविरोध हल भएको छैन । नेपाली समाजमा रहेको अन्तरविरोध जस्ताको तस्तै छ । कतिपय सवालमा झन् पेचिलो भएर आएको छ । नेपालमा जनमुक्ति सेना कस्तो हुनुपर्छ ? कस्तो कम्युनिस्ट पार्टी हुनुपर्छ ? कम्युनिस्ट पार्टी भनेको के हो ? आदि आदि बहसहरू भइरहेका छन् । अब यी बहसहरूलाई सैद्धान्तिकीकरण गर्दै, अभिलेखीकरण गर्दै लैजान आवश्यक छ । अब प्रचण्ड र बाबुराम वा किरणलाई दोष देखाउने समय गइसक्यो । प्रचण्डले क्रान्ति गर्छु भने पनि उनले अब त्यो काम गर्न सक्तैनन् भन्ने कुरा सुस्पष्ट छ । किरण न यता, न उताका जस्ता हुनुभएको छ भने क्रान्तिकारी पार्टी नेकपा माओवादी र तिनका नेता कमरेड विप्लवले यो काम फत्ते गर्न सक्ने प्रवल सम्भावना छ भनी आम जनताका प्रतिक्रिया आउन थालेका छन् । यो सकारात्मक कुरा हो । अब सबैले आफूलाई सबै किसिमले चुस्तदुरुस्त पार्दै सबै किसिमका भूमिका निर्वाह गर्न तयार हुन आवश्यक छ । अब दुश्मनलाई नाङ्गेझार पार्न ढिलाइ गर्नुहुन्न । पार्टीका कैयौँ कार्यशैलीहरू अहिले पनि सुध्रिसकेको छैन । ढिलाढाला, गोपनीयताको प्रश्न र कुरा काट्ने प्रवृत्तिको पूरै अन्त हुन आवश्यक छ । यतिखेर पार्टीको आदेशलाई मान्ने नेता तथा कार्यकर्ताको आवश्यकता छ । अहिले लिपुलेक प्रकरणसम्बन्धी बहस चुलिएको छ । यो प्रकरण वास्तवमा चीनले भारतलाई खुसी बनाउन गरिएको सम्झौता यो । यसमा दुवै देशले गम्भीर गल्ती गरेका छन् । लिपुलेकसम्बन्धी सम्झौता नेपालको राष्ट्रिय स्वाधीनतामाथिको गम्भीर हस्तक्षेप हो । क्रान्ति सम्पन्न गर्नाका निमित्त अन्तर्राष्ट्रिय परिस्थितिलाई पनि ठीक ठीक तरिकाले व्यवस्थापन गर्न आवश्यक हुन्छ । त्यसैले नेकपा माओवादीले अन्तर्राष्ट्रिय काम कारबाहीलाई यथाशीघ्र व्यवस्थित गर्न आवश्यक छ ।
नेपालमा अबको क्रान्ति पहिलाको जस्तो हुनेछैन । अब जिल्ला जिल्लाले आ–आफ्ना विशेषता र स्वत्वको आधारमा क्रान्तिको रूपरेखा बनाउनुपर्दछ । कथित १६ बुँदे सहमतिका आधारमा कथित एकथान संविधान नेपाली जनतामाथि लादिने प्रवल सम्भावना छ । यस्तो बेला त्यसको प्रतिरोध गर्नु नेपालका क्रान्तिकारी तथा देशभक्त शक्ति र जनताको दायित्व बन्न जानेछ । तथाकथित संविधान र त्यसपछिका सबै किसिमका निर्वाचनहरूलाई ध्वस्त पार्दै पुरानो सत्तालाई अलगथलग पार्नुको कुनै विकल्प छैन । त्यतिखेर जनताले संसदीय सत्ताका विकल्प खोज्नेछन् । त्यो बेला जनतालाई त्यसको विकल्प दिन पनि नेपाली जनताको क्रान्तिकारी पार्टी नेकपा माओवादी तयार हुनुपर्नेछ । संसदीय सत्ताको विकल्पमा जनताको सत्ता दिने कुरा सामान्य छैन तर यो त्यतिखेर अनिवार्य बन्न जानेछ । यस्तो अनिवार्य परिस्थिति वर्गसङ्घर्षलाई चर्काएर मात्र बन्नेछ । विप्लव माओवादीको विप्लवी अभियानद्वारा प्रतिक्रियावादीहरूका सारा षड्यन्त्रलाई धुजाधुजा बनाउन सकिनेछ । त्यसैले एकपटक सबैले समवेत स्वरमा भनौँ– एकीकृत क्रान्तिको झन्डामुनि गोलबन्द बनौँ । विप्लवी अभियानमा सामेल होऔँ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु