विप्लवलाई पत्र – वैरागी जेठा

२०७१ मंसिर १६ गते, मंगलवार


इतिहासका पाना पल्टाउँदै
विप्लवलाई पत्र लेखिरहेछु
तिम्रो सङ्घर्षमा उत्रिन
अक्षरको बारुद पड्काउन जुटेको छु
उवाको जङ्लको चिहानबाट
मसिनो हाडको टुक्रामा बारुदको रङ् पोतेर
क्रान्तिको ढोड सल्काइरहेछु
कति मारिने हुन्
कति बाँच्ने हुन्
आजसम्म
जिउँदा हड्डीहरूको बाजा बजाउँदै
युद्धको यात्रामा हिँडेको छु
मूर्दाझैँ सुतेको सहर
मलाई ऋणको ढाँकर चढाइरहेछ
तिमीलाई मेरो कथा सुनाउन पाएको छैन
तिमीले लडाइँको घोषणा ग¥यौ
चन्दन घोटेझैँ म घोटीरहेकी छु
निरन्तर
शिशिरको चिसोहावा पिएर
तिमीलाई भेट्ने आशामा
पत्र लेखिरहेछु
मैले युद्धको लगाम छोडेको छैन
कहिल्यै छोड्ने छैन
कृसिक्रान्ति नभएसम्म
मेरो हाड घोटीरहने छु
मैले मेरो आयु नापेको छैन
सूचीकारले झैँ
जीवन बलिरहेछ
रानीपोखरीमा
उवाको धूलो चाटेर भएपनि
मेरो हड्डी
तिम्रो पहिलो गोली भएर पड्कन चाहन्छ
मलाई निम्सरो नठान
मेरो हड्डी एटम्बम भएर पड्कँदै छ
तिम्रो मोर्चामा
क्रान्तिको सिँढीबाट ओर्लन कत्ति मन छैन
सास छउन्जेल
मेरो जीवन
तिम्रो मोर्चामा डुलीरहने छ
म एक्लै भए पनि
मेरो हाड पग्लने छैन
वैरीका ज्वालाहरूले
मेरो कुनै अर्को बाटो छैन
हृदयको तालीका रोक्ने
निश्चय नै म युद्द लडिरहेको हुने छु
युद्ध रोकिने छैन
मेरो आन्द्रामा माटोको लेप लगाउँछु
बारुदले थुकेको धुँवा पिउँछु
तिम्रो क्रान्ति निभ्न दिन्न
नालापानी छोएर भन्छु
विप्लव
हाम्रो युद्ध लामो छ
मेरो शरिर कालीमाटी भएर बग्न सक्छ
क्रान्ति विनाको रेल गुड्न सक्दैन
इन्द्रसरोवरझैँ जमेर
सेती भएर बग्न चाहन्छु
विप्लव
तिम्रो मोर्चाको सागरमा

लार्के भएर उभिएको छु
जमीनमा
तिमी सँग सम्झौता गर्न चाहन्छु
इतिहासका पाना पल्टाएर

प्रतिक्रियाहरु