विनाशकारी भूकम्पको तीन वर्ष : पुनर्निर्माण अत्यन्तै लाजमर्दो

२०७५ बैशाख १२ गते, बुधबार

काठमाडौं, १२ बैशाख । विनाशकारी भूकम्प गएको तीन वर्ष पूरा भएको छ । भूकम्पबाट झन्डै १० लाख निजी घरमा क्षति पुगेको थियो भने करिब साढे सात हजार विद्यालय, एक हजार दुई सय स्वास्थ्य संस्था र साढे सात सय सांस्कृतिक सम्पदामा क्षति पु-याएको थियो । तर, यो अवधिमा भएको पुनर्निर्माणको प्रगति भने सन्तोषजनक छैन । तर, तीन वर्षमा झन्डै एक लाख निजी घर बने पनि विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा तथा सरकारी भवनको पुनर्निर्माण अत्यन्तै लाजमर्दो अवस्थामा छ ।
पुनर्निर्माण प्राधिकरणका अनुसार यो तीन वर्षको अवधिमा १ लाख १९ हजार २ सय २९ निजी घरको पुनर्निर्माण भएको छ । यो संख्या कुल लाभग्राही सूचीमा सूचीकृत सात लाख ६७ हजार ७०५ को करिब १५ प्रतिशत मात्र हो । यसबीचमा ४ लाख ३० हजार घर निर्माणको चरणमा रहेको प्राधिकरण बताउँछ ।
भूकम्प गएको तीन वर्षको अवधिमा पुनर्निर्माण गर्नुपर्ने सूचीमा रहेका ७ हजार ५ सय ८३ विद्यालयमध्ये ३ हजार ६ सय १५ को पुनर्निर्माण सम्पन्न भएको छ ।
त्यस्तै, १ हजार १ सय ९७ स्वास्थ्य संस्थामध्ये ५ सय ८६ र ७ सय ५३ सांस्कृतिक सम्पदामध्ये सय वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणको तथ्यांक छ ।
भूकम्पपीडितका लागि सरकारले दिने घोषणा गरेको सहुलियत ऋण अझै पनि टुंगो लाग्न सकेको छैन । आर्थिक वर्ष २०७३÷७४ को बजेट वक्तव्यमा विपन्न वर्गका लाभग्राहीलाई अनुदानबाहेक तीन लाख रुपैयाँ निब्र्याजी ऋण सुविधा उपलब्ध गराउने घोषणा गरिएको थियो । त्यसअनुसार करिब एक वर्षअघि नै सरकारले सामुहिक जमानीमा तीन लाख रुपैयाँ निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि समेत ल्याएको थियो । कार्यविधिलाई संशोधन गरेर गत कात्तिकमा सामूहिक तथा धितो जमानीमा ऋण लिन पाउने व्यवस्था गरिए पनि लाभग्राहीले अझैसम्म यो सुविधा पाउन सकेका छैनन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु