विद्युतीय शव दाहगृह संचालनमा आउँदै

२०७२ श्रावण ९ गते, शनिबार

काठमाडौँ पशुपतिक्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डनले विद्युतीय शव दाहगृह निर्माणको काम ९७ प्रतिशत सम्पन्न भइसकेको बताए । उनले आगामी भदौदेखि विद्युतीय शव दाहगृह सञ्चालनमा आउने बताएका छन् । अहिलेसम्म वैदिक विधिअनुसार भष्मेश्वरघाट र आर्यघाटमा दाउराबाट शव जलाइँदै आएकामा अब विद्युतीय शव दाहगृह एउटा विकल्प हुनेछ ।
सदस्य सचिव गोविन्द टण्डनले भने ‘शव दाहगृह दुई वर्षअघि नै सञ्चालनमा आउनुपर्ने हो, ढिला भयो, सबै काम सम्पन्न भइसकेको छ अब चाँडै सञ्चालनमा ल्याउँछौं ।’ ठेकेदारको लापरबाहीले काममा ढिलाइ भएको उनको दाबी छ । गुरुयोजना बनेको करिब २८ वर्षपछि तिलगंगा पुल नजिकै शव दाहगृह निर्माण भइरहेको हो । विसं २०४४ मा तयार पारिएको गुरुयोजनाअनुसार शव दाहगृहका लागि छ रोपनी जग्गा छुट्याइएको छ ।
पहिलो चरणमा शव दाहगृह निर्माण गर्न भारतबाट आयातित दुईटा मेसिन जडान गरिएको छ । तेस्रो मेसिन आउनेवाला छ । कोषले दुई मेसिन जडानलगायत अहिलेसम्मको खर्च करिब १३ करोड रुपैयाँ भएको जनाएको छ । सदस्य सचिव टण्डनका अनुसार शव दाहगृहमा ४५ मिनेटभित्र २ शव अन्त्येष्टि गर्न सकिन्छ । नदी किनारमा अन्त्येष्टि गर्ने हिन्दु संस्कार हो । टण्डनका अनुसार विद्युतीय शव दाहगृह पनि पवित्र हो । ‘खास फरक केही पनि छैन, जलाउने आगोले नै हो । फरक विद्युत् र दाउरामात्र हो,’ उनले भने ।
कोषका अनुसार आर्यघाट र भष्मेश्वर घाटमा दैनिक ३०–५० शवको अन्त्येष्टि गरिन्छ । जसका लागि ठूलो परिणाममा दाउरा चाहिन्छ । एउटा शव जलाउन करिब २ सय ५० केजी दाउरा चाहिन्छ । दैनिक ३० शवका दरले महिनामा करिब ७ हजार ५ सय केजी दाउरा जरुरी पर्छ । ‘विद्युतीय शव दाहगृह निर्माणपछि दाउरा र समयको वचत हुन्छ,’ टण्डनले भने, ‘जंगलको संरक्षण हुन्छ, केही हदसम्म वातावरण प्रदूषण रोकिन्छ ।’ लोडसेडिङका बेला वैकल्पिक व्यवस्था गरिने टण्डनले जानकारी दिए ।

प्रतिक्रियाहरु