विद्युतीय शवदाह गृह र क्रियापुत्री घर सञ्चालनमा

२०७७ जेष्ठ ११ गते, आईतवार

काठकाडौं, ११ जेठ । कोरोनाको सङ्क्रमणबाट मृत्यु भएकी महिलाको दाह संस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह नौ दिनपछि सञ्चालनमा आएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चेकी मृत्यु भएकी ती सुत्केरीको जेठ ३ गते शनिबार राति सो शवदाह गृहमा दाह संस्कार गरिएको थियो । विद्युतीय यन्त्र भएको कक्षलाई ३६ घण्टासम्म सिल गरी सरसफाइ गरिएको थियो ।यन्त्र चलाउने सबै प्राविधिक कर्मचारी महिलाको शवदाहमा संलग्न भएपछि सबैको पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।
सो परीक्षण प्रतिवेदन नेगेटिभ आएपछि शवदाह गृह सञ्चालनमा ल्याउन लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । गृह चलाउन तताउन शुरु गरिसकिएको पनि उनले बताए ।
शवदाहको विद्युतीय यन्त्र चलाउने प्राविधिक पर्याप्तमात्रामा भएको भए ३६ घण्टापछि नै सञ्चालनमा ल्याउन सकिने थियो । सुरक्षाका कारण कोरोना सङ्क्रमितलाई आर्यघाट र भष्मेश्वर घाटमा जलाउन नसकिने कोषले जनाएको छ । विद्युतीय शवदाह गृहमा दुई शव एकैपटक जलाउन सकिन्छ । कोरोना सङ्क्रमितको शव जलाउन विद्युतीय शवदाह यन्त्र चलाउने प्राविधिक कर्मचारीको अभाव हुन सक्ने देखिएको छ । जम्मा ६ जना कर्मचारीले हाल तालिम लिएर यन्त्र चलाउँदै आएका छन् ।
कोरोना प्रमाणित भएकाको शव जलाएपछि प्राविधिकको पिसिआर परीक्षण गर्नुपर्छ । कर्मचारीलाई कोरोना पोजेटिभ देखिए गृह चलाउन दिइँदैन । अरु कर्मचारीलाई तालिम दिन तीन महिना लाग्छ ।
नेपाली सेनाले सुरक्षितरुपमा विद्युतीय शवदाह गृहसम्म शव ल्याएपछि कोषका तालिम प्राप्त कर्मचारीले मात्र यन्त्र चलाउन सक्छन् । जनशक्ति व्यवस्थापनका विषयमा पूर्व तयारी नभएकाले समस्या पर्न सक्ने जनाइएको छ । सरसफाइका लागि एक हप्तासम्म बन्द रहेको पशुपतिको क्रियापुत्री घर पनि आजैदेखि सञ्चालमा आएको कार्यकारी निर्देशक खतिवडाले बताए । १३ दिनसम्म क्रियापुत्री बसिसकेपछि सफाइका लागि क्रियापुत्री घर केही समय बन्द गरेर सरसफाइ गरी पुनः सञ्चालन गर्ने गरिएको छ । क्रियापुत्री घरमा आवतजावत गर्नेमा कोरोनाको सङ्क्रमण नफैलियोस् भनी सजगता अपनाइएको कोषले जनाएको छ ।
पशुपति क्षेत्रमा काज क्रिया गर्न चाहनेका लागि ४० कोठाको व्यवस्था गरिएको छ । पशुपतिमा सबै सुविधा हुने भएकाले मानिसको रोजाइमा यहीँको क्रियापुत्री घर पर्ने गरेको छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार