विद्यार्थीले जुटाए सहयोग

२०७४ मंसिर २९ गते, शुक्रबार

काठमाडौं, २९ मंसिर । ताप्लेजुङ सदरमुकामस्थित भानु जन माविमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले आगलागीका कारण घर गुमाएकी सहपाठी सविता यक्सोलाई आर्थिक सहयोग प्रदान गरेका छन् । व्यवस्थापन संकायअन्तर्गत कक्षा १२ मा अध्ययनरत विद्यार्थीले खर्चका कारण पढाइ अवरोध नहोस् भन्ने उद्देश्यले रु १६ हजार ५५ संकलन गरी यक्सोलाई बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी हस्तान्तरण गरेका हुन् ।
पत्रकार महासंघ जिल्ला शाखा, ताप्लेजुङका कार्यबाहक अध्यक्ष चन्द्र पन्धाक ‘प्रयास’ र विद्यार्थी जीवन भट्टराईले संयुक्तरुपमा उक्त रकम हस्तान्तरण गर्नुभयो । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका घर भई हाल भानु जन माविमा कक्षा १२ मा अध्ययनरत सविताको गत मंसिर १९ गते आगलागीका कारण घर जलेर नष्ट भएको थियो । उहाँसहितको गरी एकै समयमा सो ठाउँका तीन घर जलेका थिए । – रासस

प्रतिक्रियाहरु