वित्त आयोगद्वारा काम सुरु

२०७४ माघ २४ गते, बुधबार

काठमाडौं, २४ माघ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले काम सुरु गरेको छ । आयोगमा प्रमुख आयुक्त र आयुक्तहरु नियुक्त हुन बाँकी रहेपनि आयोगले प्राविधिक काम भने सुरु गरेको हो । संविधानको धारा २५० बमोजिम स्थापित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षसहित बढीमा पाँचजना सदस्य रहने संवैधानिक व्यवस्था छ । अहिले आयोगमा अध्यक्ष तथा सदस्यहरुको नियुक्ति हुन बाँकी नै रहेपनि आयोग कार्यालय स्थापना र प्रशासनिक संरचनासँगै प्राविधिक काम भने सुरु भएको छ ।
आयोगले संविधान र कानुनबमोजिम संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय सरकारबीच राजस्वको बाँडफाँट गर्ने विस्तृत् आधार र ढाँचा निर्धारण गर्नुका साथै प्राकृतिक स्रोत–साधन एवं ती स्रोतबाट प्राप्त हुने राजश्वको बाँडफाँटमा स्थानीय तह, प्रदेश एवं संघबीच हुनसक्ने सम्भावित विवादको विषयमा अध्ययन गरी त्यसको सिफारिस गर्नेछ । संघ, प्रदेश एवं स्थानीय तहबीच स्रोत बाँडफाँटमा कम विवाद बनाउन अध्ययन गरिरहेको आयोगका कामु सचिव वैकुण्ठ अर्यालले बताए । स्रोत बाँडफाँटमा विवाद हुनसक्ने परिकल्पना संविधानलेसमेत गरेको भन्दै कम विवाद हुने गरी लगानी एवं स्रोतको बाँडफाँटको खाका बनाउन आयोग लागेको उनले बताए ।
आयोगले ७ ओटा प्रदेश र ७५३ स्थानीय तहलाई अनुदान उपलब्ध गराउने आधार तयार पार्नेछ भने राजश्व बाँडफाँटको ढाँचा बनाएर प्रस्ताव गर्नेछ । यस्तै, संघ, प्रदेश र स्थानीय सरकारको खर्च जिम्मेवारी पूरा गर्ने र राजस्व असुलीमा सुधार गर्नुपर्ने उपायहरूको सिफारिस गर्ने, समष्टिगत आर्थिक सूचकहरूको विश्लेषण गरी संघ, प्रदेश र स्थानीय सरकारले लिनसक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने, संघ र प्रदेश सरकारको राजस्व बाँडफाँट आधारको पुनरावलोकन गरी परिमार्जनको सिफारिस गर्ने, प्राकृतिक स्रोतको परिचालन गर्दा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको लगानी तथा प्रतिफलको हिस्सा निर्धारणको आधार तय गरी सिफारिस गर्नेछ । आयुक्तहरुअन्तर्गत् सचिवको नेतृत्वमा रहने आयोग कार्यालयमा चारजना सहसचिवसहित करिब ९० जना कर्मचारी रहनेछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु