विघटनको संघारमा संविधानसभा

२०७१ भाद्र २२ गते, आईतवार


काठमाडौँ । नेकपा-माओवादीको मागबमोजिम सत्तासीन नेपाली काँग्रेस, एमाले र एमाओवादी राष्ट्रिय राजनीतिक सभा गर्न तयार भएका छन् । राजनीतिक सभा आयोजना हुने भएपछि नेकपा-माओवादी नेतृत्वको ३३ दलले बहिष्कार गर्दागर्दै निर्वाचन भएर गठन भएको संविधानसभाले अन्ततः विघटनको मार्ग समातेको छ । माओवादीले यो संविधानसभालाई नमान्ने भन्दै कथित संविधानसभाको खारेजी र गोलमेच सम्मेलनको माग गर्दै आएको थियो । माओवादीको सहमति र सहभागिताबिना संविधानसभाले बनाएको संविधानको कुनै अर्थ र औचित्य हुने नदेखेपछि दलहरू अन्ततः माओवादी एजेण्डालाई सम्बोधन गर्न घुमाउरो बाटो समाउन बाध्य भएका छन् । माओवादीले मागेको गोलमेच सभालाई संविधानसभामा भएका दलहरू घुमाउरो ढङ्गले सहमत भएपछि संविधानसभाको भविष्य संकटमा परेको छ । र, यो संविधानसभा कुनै पनि बेला विघटन हुन सक्ने स्थितिमा पुगेको छ । देशको परिवर्तनको प्रमुख बाहक शक्ति नेकपा-माओवादीलाई बाईपास गरेर संविधान बनाउनुको कुनै अर्थ छैन । विगतमा काँग्रेस, एमाले र एमाओवादी मिलेर जति बल मिच्याई गरे पनि अन्ततः उनीहरू ठाउँमा आएका छन् । अब संविधानसभाको ढोल पिट्न छाडेर राष्ट्रिय सहमति कायम गर्नुपर्छ र त्यहीँबाट समग्र समस्याको हल गर्नुपर्छ भन्ने राजनीतिक विश्लेषकहरूको ठहर छ । काँग्रेस, एमाले र एमाओवादीको मिचाहा प्रवृत्तिले संकट झन् गहिरिँदै गएको थियो अब उनीहरू माओवादीलगायत सबै दललाई समेटेर छलफलमा उत्रिई समस्या समाधानमा केन्द्रित भए भने पक्कै पनि मुलुकले निकास र जनताले संविधान पाउँछन् भन्ने राजनीतिक विश्लेषकहरूको ठम्याई छ ।
विगतमा संविधानसभाको निर्वाचन बहिष्कार गरेको माओवादीले पछि शब्दको खेलमा नलाग्ने भन्दै गोलमेच, राजनीतिकसभा वा राष्ट्रिय राजनीतिक सभाले भने पनि सबै दलहरू एक ठाउँमा बसेर सहमति खोज्नु जुन लचकता देखाएको छ, यसले देशले वर्तमान संकटको निकासमा ठूलो मद्दत पुर्‍याउने विश्लेषकहरूको ठहर छ । यदि माओवादी र काँग्रेस, एमाले र एमाओवादीले आफ्नो दल र गुटगत स्वार्थ त्यागेर राष्ट्रिय राजनीतिक सभा आयोजना गरेर इमानदारीका साथ निकास खोजे भने देशले वर्तमान संकटबाट निकास पाउने र नेपाली जनताले चाहेको संविधान पाउने निश्चित छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु