वायु प्रदूषणबाट प्रत्येक वर्ष ३५ हजारको मृत्यु

२०७४ फाल्गुन २६ गते, शनिबार

काठमाडौं, २६ फागुन । वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले शुक्रबार आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ गोष्ठीमा विभिन्न कारणले हुने वायू प्रदूषणका कारण अनेकौँ रोग निम्तिने र त्यो मानव मृत्युको प्रमुख कारकका रुपमा देखिएको जानकारी दिइएको छ । प्रदेश नं १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङले विश्वव्यापी समस्याका रुपमा देखिएको वायु प्रदूषण समस्यालाई क्षेत्रीय, जातीय, धार्मिक र राजनीतिक बहसभन्दा ज्यादा महत्व दिएर छलफल गरी समाधान गर्नुपर्ने बताए । नाष्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले वायु प्रदूषण नियन्त्रण गर्न प्रत्येक प्रदेशमा क्षेत्रीय मापन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा घनश्यामलाल दास र विराटनगर महानगर प्रमुख भीम पराजुलीले मानव स्वयंको असावधानीले जोखिम निम्त्याइरहेको धारणा व्यक्त गरे । कार्यपत्र प्रस्तुत गर्दै नाष्टका प्राज्ञ मदनलाल श्रेष्ठले वायु प्रदूषणका कारण विश्वव्यापी रुपमा फोक्सोको अर्बुद ३६, हृदयाघात ३४ र मुटुको बिरामी २७ प्रतिशत हुने गरेको बताउँदै दुई दशमलव पाँच माइक्रोनका धुलोका कण मानव स्वास्थ्यका लागि सबभन्दा हानिकारक रहेको जानकारी दिए । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु