वन्यजन्तु सुरक्षामा ‘संयुक्त गस्ती’

२०७४ चैत्र ८ गते, बिहीबार

काठमाडौं, ८ चैत । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सुरक्षामा समुदाय, निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती परिचालन गरिएको छ । संरक्षण प्रभावकारी बनाउन संयुक्त गस्ती गर्ने गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए । दिउँसो र रात्रिकालीन समयमा फरक फरक समूहले गस्ती गर्ने गरेका छन् । निकुञ्जको मध्येवर्ती क्षेत्रमा समुदायसँगको सहकार्यमा गस्ती हुने र भित्रै कोर क्षेत्रमा नेपाली सेना र निकुञ्ज कर्मचारीको विशेष रणनीतिका साथ गस्ती हुने गरेको छ । ‘हामी रातदिन नभनी निकुञ्जको टोलीसँगै गस्तीमा जान्छौँ, भित्री कोर एरियामा भने विशेष अभियानका बेला समुदाय परिचालन हुन्छन्,’ रत्ननगर सौराहाकी नेचर गाइड डोमा पौडेल बताउँछिन् । उनी रत्ननगर नगरपालिकास्तरीय समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानको अध्यक्षसमेत हुन् । पौडेलसँगै अन्य स्थानीय गाउँले अहिले सेना र निकुञ्जका कर्मचारीसँगै जंगल गस्तीमा जाने गरेका छन् । यो मौसम खुला हुने र डढेलोका कारण वन्यजन्तु टाढासम्म देखिने भएकाले तस्करहरु सल्बलाउँछन् । त्यसैले निकुञ्जले सुमदायसँग मिलेर अहिले सुरक्षा चुस्त पारेको छ । समुदायसँगको सहकार्यले वन र वन्यजन्तुको संरक्षण प्रभावकारी भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल बताउँछन् ।
निकुञ्जको सुरक्षाका लागि विभिन्न मध्यवर्ती क्षेत्रमा सुमदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान गठन गरिएको छ । सुराकीसमेत समुदायबाटै परिचालन हुने गरेकाले नयाँखालका मान्छे गाउँ पस्नेबित्तिकै सूचना निकुञ्जमा पुग्ने गर्छ ।
समुदायको सहकार्यबाटै कतिपय गैँडा तस्करलाई पक्राउ गर्न सफल भएको छ । नेपालमा सबैभन्दा बढी बाघ र गैँडा रहेको चितवन राष्ट्रिय निकुञ्ज नै हो । विदेशी पर्यटक गैँडा, बाघ हेर्न र प्रकृतिसँग रमाउनकै लागि चितवन आउने गर्छन् । यहाँको सुरक्षामा अहिले स्मार्ट पट्रोलिङ, रियल टाइम पट्रोल, अपरेशन महाहन्टलगायत उच्च प्रविधिको प्रयोग गरेर संरक्षण प्रभावकारी गराउँदै आएको छ । जंगलमा सिसी क्यामरा राखेरसमेत सुरक्षामा निगरानी गर्ने गरिएको छ । -रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु