लोडसेडिङ लाईन नम्बर एक – मिलनकान्छा किराती

२०७३ आश्विन ७ गते, शुक्रबार

बाध्यताको चिसो बत्तासले
म जन्मिएको वस्तीबाट उडाएर
कंक्रिटको जङ्गलभित्र
मलाई पछारेको दिन पनि निकै घर्किएछ !
थाहा छैन मलाई
यो सहरमा कसिङ्गर भएर
कतिञ्जेल चौक–चौकमा ठोक्किनुपर्छ !

खुशीको यो झिलीमिली बजारमा
खर्चको सवा मिटर चढिरहन्छ
आम्दानीको एमसीबी झरिरहन्छ !
आज पनि झ्याप्पै लोडसेडिङ भो
एकोहोरो टोलाईरहेछु साँघुरो बरण्डामा
जीवनको रङ्ग उडेको उदास बटुवाझै
पर चउर मास्तिर डाँडामा
नाचिरहेका ताराहरु बेठेगान हेरिरहेछु
हराईरहेछु
कंक्रिटको कालो जङ्गलभित्र,
म हराईरहेको ठाउँ
लोडसेडिङ लाईन नम्बर एक हो ।

कत्ति बस्नु अभावको अध्याारोभित्र !
प्रश्नै–प्रश्नको चाङ लाग्छ दिमागको दराजभरि
प्रविधि, पैसा, पानी अथवा के नभएर सरकार ?
सधै लोडसेडिङ हुन्छ यसरी !
मलाई थाहा छैन,
कुन प्रविधि र पैसाले बत्ती बल्छ !
कुन तार जोडिंदा दिमाग चल्छ
कुन तार चुडिंदा हृदय जल्छ !
अहँ म नजान्ने मान्छे !
तर, सरकार !
यदि पानीको अभावले
यत्तिलामो लोडसेडिङ भएको हो भने
मलाई थाहा छ,
मेरो आँखाको ठ्याक्कै डिलमुनि इन्टेक बनाउनू !
गहभरि खनेर पेनस्टोक लगाउनू
चलाउनू डोजर मेरो छातीमाथि
पहरो फोरेर बनाउनू पावरहाउस मेरो मुटुमाथि
जलाउनू बत्ती सारा देश नै उज्यालो हुनेगरि
हटाउनू लोडसेडिङ सबैको जिन्दगीभरि !

किनकि,
मलाई थाहा छ सरकार !
यसको लाईसेन्स कसैको झोलामा छैन,
र,
प्रोजेक्ट सफल हुन नदिने
ब्रिफकेस त्यहाँसम्म आईपुगिसकेको छैन !

प्रतिक्रियाहरु