लोकतन्त्रको प्रश्न: – बलराम तिमल्सिना

२०७५ असार २५ गते, सोमबार

लोकतन्त्र बुढो भैसकेको छ
खासै ठीक छैन यसको स्वास्थ्य
उहिलै हो अव मर्छ भनेको यो
तै अझै मरेको छैन
सायद अझै दुख दिन वाँकि छ यसले !

मजदूरहरूको जुलुस देख्यो भने
झनक्क रिस उठ्छ लोकतन्त्रलाई
भोक रोग गरिवीको कुरा सुन्यो भने
या वेरोजगारीको कुरा सुन्यो
अडियो एलर्जी हुन्छ यसलाई !

लोकतन्त्रको जीवनकोलागि
केही जरुरी शर्तहरू छन
जस्तो कि –
धनी र गरीव मासिनु हुदैन
अझ बुझ्ने गरी भन्दा
गरिवले धनी हुनु हुदैन
धनीले गरीव हुनु हुदैन
शासन सत्तामा सँधैभरि
पूँजीपति मात्रै बस्नु पर्छ
लोकतन्त्रको प्रश्न छ-
‘मजदूरले सरकार चलायो भने
कारखाना कसले चलाउँछ ?’

लोकतन्त्रको भनाई छ-
‘मजदूरहरूले श्रम गर्ने हो
र ज्यालाको लागि नमस्कार गर्ने हो
ज्याला प्राप्त भएपछि
रोजगार दाता महान पूँजीपतिलाई
अदवले नमस्कार गर्ने हो !

लगानी कति थियो,
खर्च कति भयो ,
नाफा कति भयो
त्यो नाफा कसरी भयो
र त्यो नाफा कसको हो ?
यी सव मजदूरले सोच्ने दुख गर्ने हैन !’

मजदूरहरूले हडताल गरे भने
या तलव वृध्दिको माग गरे भने
यो सोझै नाफा घट्ने कुरा गरे भने
लोकतन्त्रको स्वास्थ्यमा खरावी आउँछ
र लोकतन्त्रले रौद्र रुप धारण गर्छ !

हिजो आज
मजदूरहरू पनि चलाख भएका छन्
लोकतन्त्रकै गर्भबाट
जन्मिरहेछ नयाँ व्यवस्था
यी सव चाल पाएपछि अचेल
लोकतन्त्रको स्वास्थ्य विग्रिएको छ !

यसको स्वास्थ्य ठीक हुन
लाखौं मजदूरको वली चाहिन्छ
करोडौं मानिसको अकाल मृत्यु
र हजारौं सहरको खरानी चाहिन्छ
पृथ्वीभरिका मानिसहरूको
जम्मा गरेर पसिनाको सागर
अगस्तीलेजस्तै पिउँछ
र अभद्र हाँसो हाँस्छ यो !

यौटा अन्तिम र गुदी कुरा छ
लोकतन्त्रको भजन गाउँनेहरू
शासकहरू हुन्छन्
शोषकहरू हुन्छन
तल तलका पनि
भ्रष्ट ठग र नालायकहरू हुन्छन
असल मानिसहरू सवैले
लोकतन्त्रलाई घृणा गर्छन
किन कि यो
शोषकहरूकै दमनको औजार हो !

लोकतान्त्रिक मूल्य-मान्यता भन्नु
धनीहरूकै मूल्य-मान्यता हुन
श्रमिकहरूको लागि लोकतन्त्र
हरिणलाई सिंहजस्तै हो !

प्रतिक्रियाहरु