लोकतन्त्रको धज्जी नउडाऊ

२०७६ श्रावण ३२ गते, शनिबार

रुपमा हेर्दा देशमा लोकतन्त्र स्थापना भएको छ । दुई तिहाई बहुमतको सरकार छ । तर, सारमा हेर्दा देशमा लोकतन्त्रको उपहास भइरहेको छ । सरकार सर्वत्र निरीह सावित हुँदै गइरहेको छ । राष्ट्र, राष्ट्रियता र जनजीविका चौपट भएको छ । सरकारको नालायिकीपनकै कारण यी र यस्ता अनेकौँ गतिविधिहरु भइरहेका छन् । सरकार संविधान प्रदत्त जनताको मौलिक हक र अधिकारमाथि बन्देज लगाउन तम्सेको छ । जसको उदाहरणका लागि उसले नेपाल कम्युनिस्ट पार्टीमाथि गरेको व्यवहार हेरे प्रस्ट हुन्छ । राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषय उठान् गरेका नेकपामाथि प्रतिबन्ध लगाउनु र उसका नेता, कार्यकर्तामाथि धरपकड गर्ने, गिरफ्तार गर्ने र झूठा मुद्दामा फसाउने कार्य भइरहेको छ । यो देशको संविधानविपरीतको कार्य हो भने लोकतन्त्रको उपहाससमेत हो । त्यसैगरी, सरकारले महँगी, भ्रष्टाचार, कालोबजरी र अनियमितता रोक्न सकेको छैन । सरकारका मन्त्रीहरु नै सार्वजनिकरुपमा यी र यस्ता कुराहरु स्वीकार गरेको समाचारहरु प्रचारप्रसार आइरहेका छन् ।
समग्रमा हेर्दा केपी ओली नेतृत्वको सरकारले राष्ट्रहित र जनहितको कार्य गर्न नसकेको जगजाहेर छ । तर, सरकार आफ्नो कार्यशैली सच्याउनुभन्दा निरंकुश ढङ्गले अगाडि बढेको छ । जुन देश, जनता र लोकतन्त्रको लागि घातक छ । सरकारको यस्तो रबैयाले राष्ट्र, राष्ट्रियता र लोकतन्त्र खतरामा परेको छ । तसर्थ, सरकारलाई समयमै लगाम लगाउन आवश्यक छ । राष्ट्र, राष्ट्रियता, जनजीविकाका लागि नेकपाले उठान् गरेको संघर्षलाई सफल पार्नुको कुनै विकल्प छैन । अन्यथा देश र जनता संकटमा पर्ने निचित छ । आमसचेत नागरिक बेलैमा सचेत होऔँ ।

प्रतिक्रियाहरु