लोकतन्त्रको अनावरण – बलराम तिमल्सिना

२०७५ बैशाख ४ गते, मंगलवार

यौटा ऐतिहासिक काम छ
वर्षौंदेखि अलपत्र
उनीहरूले नगरेको
हामीले नै गर्नु पर्ने
त्यो महान काम हो-
लोकतन्त्रको अनावरण !

मानिसहरूले आजसम्म देखे
केवल लोकतन्त्रको बाहिरी आवरण
रङ्गिन , चमकधमक र वाचाल
यसको भित्र के छ ?
कसैलाई थाहा छैन
सजिलै त्यो देख्न पनि सकिदैन
त्यो देख्न यौटै काम गर्नु पर्छ-
लोकतन्त्रको अनावरण !

संसदका रुमानी भाषणहरूको श्रीपेच
न्यायलयका पवित्र भ्रमहरूको मेखला,
र टाटेपाटे संगठनको खराऊ लगाएर
सर्वस्वीकार्यताको गफ गरी हिड्ने
हाम्रो समयको लोकतन्त्र
के भित्र पनि भलाद्मी छ ?
मानिसहरूको दिलमा प्रश्नहरू छन्
ती प्रश्नहरूको यौटै जवाफ छ-
यसको यथासिघ्र अनावरण !

यो कति क्रुर छ भनेर
कहिलै सोधेनन् अखवारहरूले
विस्थापित श्रमिकसँग
सोधे त केवल यसकै सन्तानसँग
जसले भर्खरै खोलेको छ राजधानीमा
अन्तराष्ट्रिय ब्राण्डको शो-रुम
उसले भनिदियो-
लोकतन्त्र महान छ !

यो कति झुर छ बनेर
कहिलै सोधेनन् टेलिभिजनहरूले
यसैबाट वलत्कृत वालिकासँग
बरु सोधिदिए –
सफेदपोष वलत्कारीसँगै
जो भर्खरै नयाँ बलत्कारबाट आएको थियो
धन्य धन्य हुदै लोकतन्त्रसँग
त्यो वलत्कारीले घोषणा गर्यो-
लोकतन्त्र नमान्ने आतङ्ककारी हुन् !

लोकतन्त्र कति झुर छ भनेर
कसैले पनि सोधेन
पवित्र अदालतबाटै लुटिएको
कुनै सोझो सडकछापसँग
लोकतन्त्र दिवसको विहान
उल्टै अन्तरवार्ता लिए अनलाइनले
लुटेरा न्यायधीशले आदेश खोक्यो –
लोकतन्त्रको कुनै विकल्प छैन !

लोकतन्त्र दिवशको दिन
आकासमा सैन्य हेलिकोप्टर छ
फूल खसाल्दै जमीनमा
एउटा भोको पेट चिच्यायो –
“यौटा रोटी खसाल न चिलगाडी
के गर्नु मलाई त्यो फूल ?”
लोकतन्त्रका हर्ताकर्ताहरू
मञ्चासिन छन मखलेल मुद्रामा
मानिसहरू कोही छैनन् त्यहाँ
केवल लोकतन्त्रवादीहरू छन्
किन कि त्यहाँ रोटीको कुरै हुन्न !

लोकतन्त्रका वन्द कोठाहरूमा
जडान गरेर सिसि क्यामेरा
सडकमा राखेर स्किन
एक दिन हेर्न पाउँने हो भने जनताले
लोकतन्त्रको आयु घण्टाहरूमा छोटिन्थ्यो
क्षणमै खरानी बन्थ्यो लोकतन्त्र !
जनताहरूले देख्ने थिए-
किन सभासदहरू चुत्था हुन
मन्त्रीहरू कसरी सामान्य नोकर हुन
प्रधानमन्त्री भन्ने जिनिस
कसरी मामुली कारिन्दा हो
जावो न्यायधीश
कसरी थुकको पैसा चाट्छ
कहाँबाट आउँछ आदेश
कसले चलाउँछ यथार्थ शासन
को हो असली शासक
छाङछुङ देख्ने थिए मानिसले !

यो कति झुर र
यो कति क्रुर छ
यो कति चोर छ
कति अस्लिल छ र वलत्कारी छ
कति ठग छ र गफाडी छ
कति पतित र भ्रष्ट छ
त्यो सवै थाहा पाउँने
यौटै अनुष्ठान छ , त्यो हो –
लोकतन्त्रको अनावरण !

प्रतिक्रियाहरु